१७ असार २०८३, बुधबार

‘हाम्रा राम्रा कार्यक्रम अघि बढाएकामा धन्यवाद, तर…’ : पूर्वअर्थमन्त्री पुनको सरकारप्रति मिश्रित प्रतिक्रिया

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गरेका महत्त्वपूर्ण कार्यक्रमहरू वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकतामा समावेश गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन्। तर, उनले सुशासनका नाममा सरकार छनोटपूर्ण व्यवहारमा उत्रिएको भन्दै आशंका पनि व्यक्त गरे।

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै पुनले रास्वपा समेत सहभागी प्रचण्ड सरकारले अघि सारेका सुशासन, आर्थिक सुधारको नयाँ चरण, अर्थतन्त्रको पुनर्संरचना, उत्पादन तथा रोजगारीमुखी अर्थतन्त्रको निर्माणजस्ता विषयहरू अहिले पनि सिद्धान्त र प्राथमिकतामा सही रूपमा आएको बताए। “सुशासनअन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिसँग आबद्ध गरी क्यासलेस, पेपरलेस र फेसलेस बनाउने, उपलब्ध स्रोतसाधनको दक्षतापूर्वक विनियोजन गर्ने, खर्चलाई प्रभावकारी बनाउने, भ्रष्टाचार र चुहावट नियन्त्रण गर्ने जस्ता प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएका विषयहरू अहिले सिद्धान्त र प्राथमिकतामा सही रूपमा आएका छन्,” उनले भने।

तर, पूर्वाधारको विकास नभएको र डिजिटल विभाजन उच्च रहेको अवस्थामा सुशासनको लाभांश सबै वर्ग र समुदायले समान रूपमा लिन नसक्ने भन्दै पुनले ई–गभर्नेन्सका लागि अनिवार्य पूर्वाधार निर्माण र डिजिटल प्रक्रिया सबैको पहुँचमा पुर्याउने विषय प्राथमिकतामा पर्नुपर्ने बताए।

पूर्वअर्थमन्त्री पुनले सरकारले स्वतन्त्र र अधिकारसम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्नेमा कार्यकारी प्रमुखकै मातहतमा राखेकोमा आपत्ति जनाए। “त्यसको क्षेत्राधिकारमा केही वर्तमान र केही पूर्व पदाधिकारीलाई उन्मुक्ति दिइएकोबाट सरकार छनोटपूर्ण (सेलेक्टिभ) सुशासनको पक्षमा त छैन भन्ने आशंका जन्मिएको छ,” उनले टिप्पणी गरे। साथै, उनले आफू अर्थमन्त्री हुँदा नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम अघि सारेको स्मरण गर्दै हालका अर्थमन्त्रीले त्यसलाई अघि बढाउन चाहेमा धन्यवाद दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button