मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगञ्जबाट पक्राउ

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले सोमबार पर्साको वीरगञ्जबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतका अनुसार उनलाई वीरगञ्जस्थित दियालो होटलबाट नियन्त्रणमा लिइएको हो।
प्रहरी स्रोतका अनुसार प्रसाई केही दिनदेखि वीरगञ्जमै बस्दै आएका थिए। सोमबार प्रहरीले होटलमा पुगेर उनलाई पक्राउ गरेको हो। तर, उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा केही खुलाएको छैन।
प्रसाई यसअघि पनि विभिन्न विवादमा तानिँदै आएका छन्। पछिल्लो समय उनी सरकार र सत्तापक्षका नेताहरूविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए। उनको पक्राउपछि वीरगञ्ज क्षेत्रमा सामान्य तनावको स्थिति रहेको र प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको जनाइएको छ। प्रसाईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको बताइएको छ।





