३० जेष्ठ २०८३, शनिबार

कोलोराडोमा नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौं । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्यसमितिको आयोजनामा अमेरिकाको कोलोराडोमा हुने नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।

अनेसास कोलोराडो च्याप्टरको संयोजनमा मे महिनाको तेस्रो साता हुन लागेको सम्मेलनबारे शनिबार आयोजित पत्रकार सम्मेलनमा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले तयारी पूरा भएको जानकारी दिएका हुन्।

सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट १२५ साहित्यकार, लेखक तथा पत्रकार सहभागी हुने जनाइएको छ। त्यसबाहेक कोलोराडो राज्यका ५० भन्दा बढी स्रष्टा, साहित्यप्रेमी तथा नेपाली समुदायका प्रतिनिधिको उपस्थिति रहने आयोजकले जनाएको छ।

सभापति विश्वकर्माका अनुसार सम्मेलनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अङ्ग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, होमनाथ सुवेदी, राधेश्याम लेकाली, गोवर्द्धन पूजा, पुरु सुवेदी, मोहन सिटौलालगायत साहित्यकार तथा लेखक सहभागी हुनेछन्।

त्यस्तै, भुटानी साहित्य परिषद्का अध्यक्ष खेम रिजाल ऊर्जा, पत्रकार तथा लेखक सुधीर शर्मा, बबिता बस्नेत, वसन्त बस्नेत, विपुल पोखरेल, नारायण श्रेष्ठ, प्रेम बानियाँ, सुरज भण्डारीलगायतको पनि सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनमा कुल १७५ जनाभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।

चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाली साहित्य, भाषा, प्रवास अनुभव, सिर्जना, समालोचना, पत्रकारिता र सांस्कृतिक पहिचानसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा बहस हुने आयोजकले जनाएको छ। मे २३ र २४ मा विभिन्न सत्रहरूमा ख्यातिप्राप्त साहित्यकार तथा लेखकबीच साहित्यका विविध विधामा विमर्श हुने कार्यक्रम तय गरिएको छ।

सम्मेलनको अन्तिम दिन सहयोगी व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिनेछ।

सांस्कृतिक समितिका संयोजक विजयदेव अधिकारीका अनुसार सम्मेलनमा विभिन्न जातजाति र समुदायका झाँकी तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ।

आयोजकका अनुसार सम्मेलनले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button