काँकरभिट्टाबाट सुन र अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका पश्चिम बंगाल, कोलकाताका ३९ वर्षीय परम पाठकलाई मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाँटबाट नियन्त्रणमा लिइएको हो।
सुरक्षा निकायका अनुसार शंकास्पद रूपमा नेपाल प्रवेश गरिरहेका पाठकमाथि चेकजाँच गर्दा सुन, अमेरिकी डलर, भारतीय रुपैयाँ र विभिन्न कागजात बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमान्डमा खटिएको ९ जना सुरक्षाकर्मी र मेची भन्सार कार्यालयका ६ जना कर्मचारीसहित १५ जनाको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।
प्रहरीका अनुसार पाठकको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबरको ५७० ग्राम सुन बरामद भएको छ। त्यस्तै, ३० लाख ६५ हजार रुपैयाँ बराबरको २० हजार अमेरिकी डलरसमेत फेला परेको छ।
उनको साथबाट ८५ हजार ४१० भारतीय रुपैयाँ, सवारी चालक अनुमति पत्र, आधार कार्ड, भिभो र सामसुङ कम्पनीका दुई थान मोबाइल, एउटा हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेकसमेत बरामद गरिएको छ।
पक्राउ परेका पाठकलाई बरामद गरिएका सम्पूर्ण सामानसहित आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ।
सीमा नाकाबाट ठूलो परिमाणमा सुन र विदेशी मुद्रा बरामद भएपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।





