६ असार २०८३, शनिबार

फेसबुक पोस्टपछि बैंकर खड्का मृत फेला, अनुसन्धान सुरु

झापा । झापाको दमक नगरपालिका वडा नं. ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का मृत फेला परेका छन्।

ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत खड्का सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्तिको नाम तथा तस्बिर उल्लेख गरिएको पोस्ट सार्वजनिक गरेको केही समयपछि आफ्नै घरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार खड्काले फेसबुकमा दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको सामूहिक तस्बिर सार्वजनिक गरेका थिए। सो पोस्टमा उनले आफू गम्भीर मानसिक दबाबमा परेको आशय व्यक्त गरेको बताइएको छ।

घटना साँझ करिब ५ बजेतिर भएको प्रहरीको भनाइ छ। खड्काका बुवा महेश खड्काले छोरालाई घरमै अचेत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

खबर पाएलगत्तै प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

दमक ८ का वडा अध्यक्ष धर्मप्रसाद दाहालका अनुसार मृतकको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ।

प्रहरीले सामाजिक सञ्जालमा गरिएको पोस्ट, त्यसमा उल्लेख गरिएका व्यक्तिहरू, पारिवारिक तथा व्यक्तिगत पृष्ठभूमि र घटनासँग जोडिन सक्ने अन्य पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ।

घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले बताएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button