१७ असार २०८३, बुधबार

संविधान रक्षा र अर्थतन्त्र सुधारमा कांग्रेसको जोड

काभ्रे । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा पार्टीको प्रमुख जिम्मेवारी संविधानको रक्षा गर्नु रहेको बताएका छन्।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस अब संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणमा स्पष्ट रूपमा अघि बढ्ने बताए।

उनले मुलुकको प्रमुख चुनौती आर्थिक सङ्कट भएको उल्लेख गर्दै महँगीका कारण नागरिकको दैनिक जीवन प्रत्यक्ष प्रभावित भएको बताए। थापाले बैंकिङ प्रणालीमा पर्याप्त रकम भए पनि लगानी विस्तार हुन नसकेको, व्यवसायी ऋण तिर्न कठिन अवस्थामा पुगेको र किसानसमेत समस्यामा परेको भन्दै सरकारले राजनीतिक विवादभन्दा अर्थतन्त्र सुधारलाई प्राथमिकता दिनुपर्ने बताए।

सभापति थापाले पार्टीभित्रको गुटबन्दी र सार्वजनिक विवादप्रति पनि असन्तुष्टि जनाए। आन्तरिक विवादले कांग्रेसको छवि कमजोर बनाउँदै गएको भन्दै उनले प्रदेशका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचन मात्र लक्ष्य बनाएर होइन, राष्ट्र, लोकतन्त्र र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए।

कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी अहिले गुट भत्काएर संगठन निर्माण गर्ने दिशामा अघि बढेको बताए। उनले विशेष महाधिवेशनमा सहभागी नभएकालाई पनि जिम्मेवारी दिँदै अघि बढ्नु पार्टी एकताको संकेत भएको उल्लेख गरे।

शर्माका अनुसार विशेष महाधिवेशनमा सहभागी भएकालाई मात्र जिम्मेवारी दिँदा विभाजनलाई बल पुग्न सक्ने भएकाले सहभागी नभएकालाई पनि क्रमशः समेटिँदै लगिएको हो।

कार्यक्रममा पार्टी महामन्त्री प्रदीप पौडेल, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायत नेताहरूले कांग्रेसलाई गरिब, निमुखा र आम नागरिकको पक्षमा उभिने पार्टीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button