रुस र इक्वेटोरियल गिनीबीच सहकार्य विस्तारमा जोड

मस्को । रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र इक्वेटोरियल गिनीका विदेश, अन्तर्राष्ट्रिय सहकार्य तथा डायस्पोरा मन्त्री सिमेओन ओयोना एसोनो आङ्गुएबीच मस्कोमा भेटवार्ता भएको छ।
कार्यभ्रमणका क्रममा रुस पुगेका इक्वेटोरियल गिनीका विदेशमन्त्री आङ्गुएसँग मे १८ मा भएको भेटमा दुई देशबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्ध, वर्तमान अवस्था र आगामी सहकार्यका सम्भावनाबारे छलफल भएको जनाइएको छ।
वार्तामा मस्को र मलाबोले राजनीतिक संवाद तथा उच्चस्तरीय सम्पर्कलाई थप सक्रिय बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। साथै, संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चहरूमा प्रभावकारी समन्वयलाई निरन्तरता दिने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।
दुवै देशले व्यापार, अर्थतन्त्र, लगानी, मानवीय सहकार्यलगायत क्षेत्रमा पारस्परिक लाभ हुने साझेदारी विस्तारका लागि पर्याप्त सम्भावना रहेको निष्कर्ष निकालेका छन्। सहकार्यलाई ठोस परिणाममुखी बनाउन द्विपक्षीय सम्बन्धको कानुनी आधारलाई थप सुधार र सुदृढ गर्नुपर्नेमा पनि मन्त्रीहरूले जोड दिएका छन्।
वार्ताका क्रममा वर्तमान अन्तर्राष्ट्रिय तथा अफ्रिकी मुद्दाबारे पनि गहन विचार आदानप्रदान भएको थियो। बहुध्रुवीय विश्व व्यवस्था निर्माण, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् सुधार, मध्यपूर्वको अवस्था, आतंकवाद र अतिवादविरुद्धको लडाइँ, संकट तथा द्वन्द्व समाधानलगायत विषयमा छलफल भएको रूसी पक्षले जनाएको छ।
यसैगरी, आगामी शरद ऋतुमा आयोजना हुने तेस्रो रुस–अफ्रिका शिखर सम्मेलनको तयारीबारे पनि दुई विदेशमन्त्रीबीच छलफल भएको छ।
रुस र इक्वेटोरियल गिनीबीच कूटनीतिक, आर्थिक, लगानी तथा बहुपक्षीय सहकार्य विस्तार गर्ने पछिल्लो प्रयासलाई रुस–अफ्रिका सम्बन्ध सुदृढ गर्ने व्यापक कूटनीतिक प्रक्रियाको हिस्सा मानिएको छ।





