अमेरिकी सहयोगमा मुस्ताङका ग्रामीण समुदायमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ

मुस्ताङ। अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा मुस्ताङका ग्रामीण समुदायमा जीवनरक्षक स्वास्थ्य हस्तक्षेप कार्यक्रम सञ्चालन गरिरहेको छ। अमेरिकी क्षेत्रीय स्वास्थ्य अधिकारीले हालै मुस्ताङ अस्पतालको भ्रमण गरी मातृ तथा प्रसवकालीन मृत्यु अनुगमन तथा प्रतिकार्य (एमपीडीएसआर) सम्बन्धी प्रशिक्षणको अवलोकन गरेका छन्। यो नेपालभर मातृ तथा नवजात शिशु स्वास्थ्यलाई सहयोग गर्ने एक महत्त्वपूर्ण पहल हो।


अमेरिकी सरकारको निरन्तर प्रतिबद्धतामार्फत मुस्ताङ प्रादेशिक अस्पतालमा उच्च प्रभावकारी र प्रमाणमा आधारित स्वास्थ्य सेवाहरू प्रदान गरिँदै छन्, जसमा प्रत्यक्ष एमपीडीएसआर तालिम, स्वास्थ्यकर्मीहरूका लागि क्लिनिकल मेन्टरसिप र मानकीकृत उपचार प्रोटोकल समावेश छन्।
अमेरिकी अधिकारीले झारकोट स्वास्थ्य चौकी, प्रादेशिक जनस्वास्थ्य कार्यालय र लोमान्थाङ नगरपालिकाका टोलीहरूसँग पनि भेट गरी रेफरल प्रणाली सुदृढ गर्ने र जिल्लाभर गुणस्तर सुधारका प्रयासहरूलाई अघि बढाउने विषयमा छलफल गरेका छन्।
अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्न प्रतिबद्ध छ—जीवन बचाउने, स्वास्थ्य सेवामा नवप्रवर्तन र पहुँच अभिवृद्धि गर्ने, र दीर्घकालीन आत्मनिर्भरताका लागि प्रणालीहरू सुदृढ गर्ने।’





