‘चीन-अमेरिका सैन्य सम्बन्ध स्थिर र सकारात्मक बनाउन सहकार्य गर्ने सहमति’

बेइजिङ — चीन र संयुक्त राज्य अमेरिकाबीच आपसी हित र अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षाअनुरूप दुईपक्षीय सैन्य सम्बन्धलाई स्थिर र सकारात्मक दिशामा अघि बढाउने सहमति भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको सफल वार्तामा दुई नेताबीच रणनीतिक स्थायित्वसहितको रचनात्मक चीन-अमेरिका सम्बन्ध निर्माण गर्ने विषयमा महत्त्वपूर्ण सहमति भएको चिनियाँ पक्षले जनाएको छ। उक्त सहमतिले आगामी चीन-अमेरिका सम्बन्धको दिशा र आधारशिला तय गरेको बताइएको छ।
चीन-अमेरिका सैन्य सम्बन्धको स्थिर विकास दुवै पक्षको साझा हितमा रहेको र यो अन्तर्राष्ट्रिय समुदायको पनि साझा अपेक्षा भएको चिनियाँ सैन्य प्रवक्ता जियाङ बिनले बताए। उनले दुई राष्ट्रप्रमुखबीच भएको महत्त्वपूर्ण सहमति कार्यान्वयन गर्न, एकअर्काको मूल हित र प्रमुख चासोको सम्मान गर्न, सञ्चार र संवादलाई सुदृढ गर्न, मतभेद व्यवस्थापन गर्न, विश्वास निर्माण गर्न र शङ्का-उपशङ्का हटाउन चीन तयार रहेको उल्लेख गरे।
दुई नेताबीचको वार्तामा राजनीतिक, कूटनीतिक र सैन्य क्षेत्रमा उपलब्ध सञ्चार माध्यमहरूको अझ राम्रो प्रयोग गर्नुपर्नेमा राष्ट्रपति सीले जोड दिएको जानकारी पनि प्रवक्ता जियाङले दिए।
चीन-अमेरिका सैन्य सम्बन्धलाई सही मार्गमा स्थिर, सकारात्मक र दीर्घकालीन रूपमा विकास गर्न, द्विपक्षीय सम्बन्धको उज्ज्वल भविष्य निर्माण गर्न तथा विश्व शान्ति र स्थिरताको रक्षा गर्न यसले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।





