इबोला महामारी : कंगोबाट युगान्डा फैलियो, दुर्लभ ‘बुन्डिबुग्यो’ भाइरसले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

किन्सासा — प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा देखापरेको पछिल्लो इबोला प्रकोप आरम्भको केन्द्र इटुरी प्रान्तबाट पूर्वी कंगोका अन्य क्षेत्रमा फैलिएको छ भने छिमेकी युगान्डामा समेत सङ्क्रमण पुष्टि भएको छ। यसपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्काल घोषणा गरेको छ।
डीआरसी सरकारका प्रवक्ता प्याट्रिक मुयायाले सोमबार राति दिएको जानकारी अनुसार हालसम्म करिब ४३५ जनामा सङ्क्रमणको आशङ्का गरिएको छ भने ११६ जनाको शङ्कास्पद मृत्यु भएको छ। व्यापक क्षेत्रीय सङ्क्रमणको बढ्दो आशङ्काका बीच स्वास्थ्य अधिकारीहरू प्रकोप नियन्त्रणका लागि तीव्र प्रयासमा जुटेका छन्।
यो प्रकोप ‘बुन्डिबुग्यो’ भाइरसका कारण फैलिएको हो। यो इबोलाकै एक दुर्लभ प्रजाति हो। यसअघि कंगोमा फैलिएका अधिकांश प्रकोपको कारक ‘जाइरे’ प्रजाति थियो।
डीआरसीको राष्ट्रिय जैविक अनुसन्धान संस्थानका निर्देशक ज्याँ-ज्याक मुयेम्बेका अनुसार सन् १९७६ यता कंगोमा १७ पटक इबोला प्रकोप देखापरेको छ, जसमध्ये अधिकांश जाइरे प्रजातिका कारणले भएका थिए। तर बुन्डिबुग्यो प्रजाति भने सन् २००७ मा युगान्डामा पहिलो पटक पहिचान भएको र सन् २०१२ मा पूर्वी कंगोमा एक पटक मात्र देखापरेको उनले बताए।
उनका अनुसार जाइरे प्रजाति सामान्यतया बढी घातक हुन्छ र यसको मृत्युदर ८० प्रतिशतभन्दा माथि पुग्न सक्छ। बुन्डिबुग्यो भने तुलनात्मक रूपमा कम घातक मानिन्छ। तथापि, वर्तमान प्रकोप ढिलो पत्ता लागेको, द्वन्द्वग्रस्त क्षेत्रमा फैलिरहेको र यस प्रजातिका लागि कुनै स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध नभएकाले अत्यन्तै जोखिमपूर्ण रहेको उनले चेतावनी दिए।
डब्लुएचओले पनि इबोला जाइरेभन्दा भिन्न रूपमा बुन्डिबुग्यो भाइरसलाई लक्षित गर्ने कुनै स्वीकृत औषधि वा खोप हाल उपलब्ध नरहेको उल्लेख गर्दै क्षेत्रीय विस्तारको चिन्ता बढाएको छ। अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का अधिकारीहरूले अनुसन्धानका लागि केही सम्भावित खोपहरू विचाराधीन रहे पनि ती प्रारम्भिक चरणमै रहेको बताएका छन्।
स्वास्थ्य अधिकारी तथा विज्ञहरूले प्रकोप पत्ता लगाउन ढिलाइ हुनुका दुई प्रमुख कारण औंल्याएका छन् : पुष्टि हुनुभन्दा हप्तौं अघिदेखि नै प्रकोप फैलिरहेको हुनसक्ने र प्रारम्भिक प्रयोगशाला परीक्षणहरूमा गलत इबोला प्रजातिको खोजी गरिएको।
राजधानी किन्सासाका अधिकारीहरूका अनुसार इटुरीको र्वामपारा स्वास्थ्य क्षेत्रमा कार्यरत एक नर्सलाई प्रारम्भिक सङ्क्रमित मानिएको छ, जसको लक्षण देखिएपछि मृत्यु भएको थियो। तर अफ्रिका सीडीसीका महानिर्देशक ज्याँ कासेयाले वास्तविक स्रोत बिरामी अहिलेसम्म पहिचान हुन नसकेको शनिबार बताए। “यो प्रकोप अप्रिलमा सुरु भएको हो। हामीलाई अहिलेसम्म स्रोत बिरामीको पहिचान छैन। यसको मतलब यो प्रकोप कति व्यापक छ भन्ने हामीलाई थाहा छैन,” उनले भने।
मुयेम्बेले प्रकोप “धेरै ढिलो, एकदमै ढिलो” पत्ता लागेको बताए। प्रारम्भिक नमूनाहरू इबोला जाइरे पत्ता लगाउने उपकरणले परीक्षण गरिएकाले नेगेटिभ देखिएको र पछि किन्सासामा गरिएको विस्तृत परीक्षणमा बुन्डिबुग्यो भाइरस पुष्टि भएको उनले जानकारी दिए।
डब्लुएचओले मे ५ मा शङ्कास्पद सङ्क्रमणबारे सूचना प्राप्त भएपछि इटुरीमा टोली पठाएको थियो। यसले उक्त क्षेत्रमा हप्तौंदेखि भइरहेको अस्पष्ट मृत्युपछि प्रकोप पुष्टि गर्न मद्दत गरेको हो।
पूर्वी कंगोमा जनसङ्ख्याको चहलपहल र द्वन्द्वग्रस्त क्षेत्रमा प्रतिकार्यका चुनौतीहरूका कारण थप फैलिने जोखिम उच्च रहेको मुयेम्बेले बताए। यो भाइरस हालको स्वास्थ्य क्षेत्रबाट अन्य क्षेत्र वा प्रान्तमा फैलिनसक्ने उनले चेतावनी दिए।
सन् २०१८–२०२० को इबोला प्रकोपका क्रममा स्वास्थ्यकर्मीहरू मारिएको र स्वास्थ्य संस्थाहरूमा आक्रमण भएको स्मरण गराउँदै उनले असुरक्षाले स्वास्थ्यकर्मीको सुरक्षा, नमूना ढुवानी, सामग्री आपूर्ति, बिरामी स्थानान्तरण र समुदायसँगको सञ्चारमा समेत कठिनाइ ल्याएको बताए।
बुन्डिबुग्यो प्रजातिका लागि कुनै विशिष्ट खोप वा उपचार नभएकाले स्वास्थ्य अधिकारीहरूले बिरामीलाई अलग राख्ने, सङ्क्रमितको सम्पर्क पहिचान गर्ने र समुदायलाई सहभागी गराउने जस्ता आधारभूत उपायहरूमै भर पर्नुपरेको बताएका छन्। मुयेम्बेले सन् २०१२ मा उत्तर-पूर्वी कंगोको इसिरोमा सोही प्रजातिको प्रकोप यस्तै जनस्वास्थ्य हस्तक्षेपमार्फत नियन्त्रण गरिएको स्मरण गराए। “यदि सङ्क्रमणको शृङ्खला तोड्न सकियो भने प्रकोप नियन्त्रण गर्न सकिन्छ,” उनले भने।
स्वास्थ्यमन्त्री रोजर काम्बाले आइतबार महामारीको मापनलाई ध्यानमा राख्दै स्वास्थ्य संस्थाहरूको क्षमता वृद्धिका लागि देशमा तीन नयाँ उपचार केन्द्र निर्माण भइरहेको जानकारी दिए।
छिमेकी देश रुवान्डा, बुरुन्डी र तान्जानियाले पनि सतर्कता, सीमा निगरानी र आपत्कालीन तयारीका उपायहरू सुदृढ गरेका छन्।





