सिक्किमका मुख्यमन्त्रीले भारत–युएईबीचको ऐतिहासिक सम्झौताको स्वागत गरे

गान्तोक। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले भारत र संयुक्त अरब इमिरेट्सबीच भएका ऐतिहासिक सम्झौताहरूप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानलाई हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्री तामाङले भने, ‘रणनीतिक पेट्रोलियम भण्डार, दीर्घकालीन एलपीजी आपूर्ति, रक्षा सहकार्य, प्रविधि आदानप्रदान र ठूला लगानी प्रतिबद्धतासम्बन्धी यी सम्झौताहरूले दुई राष्ट्रबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हुन्। भारतको रणनीतिक पेट्रोलियम भण्डारमा युएईको सहभागिता बढाउने र भविष्यका लागि भारतमा तीन करोड ब्यारेल इन्धन भण्डारण गर्ने निर्णय दीर्घकालीन ऊर्जा सुरक्षा र तयारी सुनिश्चित गर्नेतर्फको ऐतिहासिक कदम हो।’
मुख्यमन्त्री तामाङले थप भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतले आफ्ना वैश्विक साझेदारीहरूलाई निरन्तर सुदृढ गर्दै विश्व मञ्चमा एक विश्वसनीय र प्रभावशाली शक्तिका रूपमा उदाउँदैछ। यी अग्रगामी सहकार्यहरूले दुवै देशका लागि आर्थिक वृद्धि, क्षेत्रीय स्थिरता र पारस्परिक समृद्धिमा ठूलो योगदान पुर्याउनेछन्।’ उनले भारतको रणनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धलाई जनताको अझ ठूलो हितका लागि अगाडि बढाउन निरन्तर सफलताको शुभकामना दिए।





