‘आफ्नो भाषा अनुमोदन गराउन अर्को चुनाव कुर्नुहोस्’ : विपक्षीलाई अर्थमन्त्री वाग्लेको अहंकारपूर्ण जवाफ

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन्। मङ्गलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अहंकारपूर्ण भाषा प्रयोग गरेका हुन्।
अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले अनुमोदन गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रलाई नै आधार बनाएर सरकारले नीति तथा कार्यक्रम, विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याएको उल्लेख गर्दै त्यसलाई विपक्षी दलहरूले आफ्नो अनुकूल बनाउन अर्को निर्वाचन कुर्नुपर्ने बताए। उनले सरकार जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सारअनुसार अघि बढिरहेको जिकिर गरे।
उनले भने, ‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार—यहाँ जे प्रस्तुत गरिएको हो, त्यो नै हो। किनकि हामीले निर्वाचन लड्नुभन्दा अगाडि रुपान्तरणका सय आधारहरू भनेर वाचापत्रमा उल्लेख गरेका थियौँ। त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्ने कुरा मान्ने हो भने यसैमा टेकेर आएका एक सय वटा शासकीय सुधारका मार्गचित्र हाम्रो नीति तथा कार्यक्रम र अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो। अब आफ्नै भाषा, आफ्नै दस्तावेज अनुमोदित गराउनका लागि अर्को चुनाव कुर्नुपर्ला।’





