डा. मनोजकुमार शर्माले प्रधानन्यायाधीशको शपथसँगै पदभार पनि ग्रहण गरे

काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले मङ्गलबार पद तथा गोपनीयताको शपथ लिएर पदभार समेत ग्रहण गरिसकेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले शपथ ग्रहण गरेका थिए।

शपथपश्चात् प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेर आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका हुन्। यसअघि, आजै बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम प्रधानन्यायाधीश पदका लागि अनुमोदन गरेको थियो। समितिले उनीविरुद्ध परेका उजुरीहरूमाथि छलफल गर्दै नियुक्तिका लागि सहमति प्रदान गरेको हो।

संवैधानिक परिषद्ले गत वैशाख २४ गते चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। सर्वोच्च अदालतमा पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको गरिमा र स्वतन्त्रता कायम राख्न आफू प्रतिबद्ध रहने बताएका छन्।





