१६ असार २०८३, मंगलवार

इरानसँग सम्झौता नभए केही दिनमै पुनः आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः आक्रमण हुनसक्ने बताएका छन्। ह्वाइट हाउसमा मङ्गलबार बोल्दै ट्रम्पले खाडी क्षेत्रका अमेरिकी सहयोगीहरूको आग्रहमा आक्रमण स्थगित गरेको खुलासा गरे। उनले आक्रमणको निर्णय लिनबाट आफू एक घण्टा मात्र टाढा रहेको दाबी गरे।

ट्रम्पले इरानी नेताहरू सम्झौता गर्न ‘याचना’ गरिरहेको बताउँदै सम्झौता नभए केही दिनभित्रै नयाँ अमेरिकी आक्रमण हुनसक्ने चेतावनी दिए। उनले शुक्रबार, सप्ताहान्त वा अर्को साताको सुरुवातसम्मको समयसीमा रहेको उल्लेख गर्दै वासिङ्टनले इरानलाई ‘नयाँ आणविक अस्त्र बनाउन दिन नसक्ने’ कुरामा जोड दिए।

ट्रम्पले खाडी क्षेत्रका धेरै सहयोगीहरूले पाकिस्तानको मध्यस्थतामा भइरहेको शान्ति वार्तामा प्रगति भएको जानकारी दिएकाले आफूले वार्ताका लागि ‘सीमित समय’ अर्थात् कम्तीमा दुई देखि तीन दिनको समय दिएको बताए। सोमबार भने ट्रम्पले यसअघिका अवरुद्ध वार्ताहरूको तुलनामा यसपटकको अवस्था ‘अलिकति फरक’ रहेको बताएका थिए। ‘हामीसँग यस्ता समयावधिहरू थिए जहाँ हामीले सम्झौता नजिक पुगेको ठान्यौं, तर त्यो सफल भएन। तर, यसपटक अलिकति फरक छ,’ ट्रम्पले भने।

ह्वाइट हाउसकी उपप्रेस सचिव एना केलीले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ‘इरानले आफ्नो आणविक महत्त्वाकांक्षा सधैंका लागि त्याग्नैपर्ने’ बताएकी छन्।

यता, इरानी सेनाका प्रवक्ता मोहम्मद अकरामिनियाले अमेरिकाले पुनः आक्रमण गरे ‘नयाँ मोर्चा’ खोलिने चेतावनी दिएका छन्। इरानको इस्ना समाचार संस्थाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा अकरामिनियालाई उद्धृत गर्दै भनेको छ, ‘यदि शत्रुले मूर्खता गर्दै इजरायली पासोमा परेर अर्को आक्रमण गरे, हामी नयाँ तरिकाले उनीहरूविरुद्ध नयाँ मोर्चा खोल्नेछौं।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button