६ असार २०८३, शनिबार

मङ्गला गाउँपालिकाले दुई सय किसानलाई एक करोडको कृषि औजार वितरण गर्यो

म्याग्दी। मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई एक करोड रुपैयाँ मूल्य बराबरको कृषि औजार वितरण गरेको छ। गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित माटेबगरमा मङ्गलबार ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरिएको हो।

गाउँपालिकाको कृषि शाखा प्रमुख विमल रोकाका अनुसार १४९ वटा मिनिटेलर हलो, ३५ वटा मिल र ११ थान थ्रेसर मेसिन वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कृषि कार्यको लागत घटाउन, किसानलाई सहजता प्रदान गर्न र समय बचत गर्न यान्त्रिकरणका कार्यक्रममा जोड दिइएको बताए।

खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनिटेलरको प्रयोग बढ्दै गएको छ। मङ्गला–४ की किसान धनमाया रोकाले एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनिटेलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झन्झट हटेको बताइन्। किसान नन्दकला सुनारले मिनिटेलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस र पानीको जोहो गर्नुपर्ने समस्या हटेको बताइन्। यस्तै, किसान जगत घर्तीले मिनिटेलरलगायतका उपकरणको प्रयोगले कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको र समयको बचत भएको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button