चीन र युरोपेली अन्तरिक्ष निकायको संयुक्त मिसन ‘स्माइल’ सफल प्रक्षेपण
फ्रेन्च गुयाना। चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) र युरोपेली अन्तरिक्ष निकाय (ईएसए) को संयुक्त मिसन ‘सोलार विन्ड म्याग्नेटोस्फियर आयोनोस्फियर लिङ्क एक्सप्लोरर’ (स्माइल) मङ्गलबार सफलतापूर्वक प्रक्षेपण गरिएको छ। फ्रेन्च गुयानास्थित युरोपेली अन्तरिक्ष केन्द्रबाट भेगा–सी रकेटमार्फत यो मिसन अन्तरिक्षमा पठाइएको हो।
यो मिसन सौर्य आँधी र पृथ्वीको चुम्बकीय क्षेत्रबीचको अन्तरसम्बन्ध अध्ययन गर्न डिजाइन गरिएको हो। स्माइलले सौर्य वायुले पृथ्वीको म्याग्नेटोस्फियरसँग कसरी अन्तरक्रिया गर्छ भन्ने विषयमा महत्त्वपूर्ण वैज्ञानिक तथ्याङ्क सङ्कलन गर्नेछ। यसले अन्तरिक्ष मौसमको पूर्वानुमान गर्न र पृथ्वीको सञ्चार तथा नेभिगेसन प्रणालीमा पर्न सक्ने प्रभावबारे बुझ्न मद्दत गर्ने विश्वास गरिएको छ।
चीन र युरोपेली सङ्घबीचको यो संयुक्त अन्तरिक्ष मिसन दुई पक्षबीचको वैज्ञानिक सहकार्यको महत्त्वपूर्ण कोसेढुङ्गा हो। यसले अन्तरिक्ष विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको नयाँ अध्याय खोलेको छ।





