६ असार २०८३, शनिबार

मुस्ताङमा एआई ड्रोन प्रविधिबाट वन गस्ती सुरु, यार्सा सिजनमा कडा निगरानी

मुस्ताङ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्च लेक, खर्क र पाटन क्षेत्रमा एआई ड्रोन प्रविधिमार्फत वन गस्ती सुरु गरेको छ। मुस्ताङमा यसअघि चलचित्र, डकुमेन्ट्री र चाडपर्वका श्रव्यदृश्य खिच्न ड्रोन प्रयोग भएको भए पनि एक्यापले पहिलो पटक एआई प्रविधियुक्त ड्रोन क्यामेरा वन गस्तीमा प्रयोगमा ल्याएको हो।

एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीका अनुसार मुस्ताङको कठिन भूगोल र न्यून मानव बस्ती रहेका उच्च स्थानमा वन अनुगमनका लागि पहिलो पटक यो प्रविधि प्रयोगमा ल्याइएको हो। उनले वारागुङ मुक्तिक्षेत्र–१ को लुप्रा लेक र घरपझोङ गाउँपालिकाको भ्रप्सा तथा नम्खु लेकलगायतका स्थानमा गस्ती भइसकेको जानकारी दिए।

यार्सागुम्बा सङ्कलनको सिजन चलिरहेकाले एक्याप जोमसोमले एआई ड्रोन प्रविधिबाट छड्के अनुगमन तीव्र पारेको छ। यार्सा सङ्कलनकर्ताबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप, उच्च लेक क्षेत्रमा पासो थाप्ने र बन्दुक बोकेर गैरकानुनी रूपमा वन्यजन्तुको चोरी शिकारी गर्ने तथा आगलागीको जोखिम सिर्जना गर्न सक्ने भएकाले आधुनिक प्रविधिको प्रयोग गरी अनुगमन गरिएको थकालीले बताए।

एक्याप जोमसोमका अनुसार प्रयोगमा ल्याइएको एआई ड्रोनको तौल १ हजार ६३ ग्राम रहेको छ। उक्त ड्रोनले करिब १५ देखि २० किलोमिटर दूरीसम्म उडान भर्न सक्छ र ६ किलोमिटर उचाइसम्म पुग्न सक्छ। ड्रोनलाई प्रतिघण्टा ९० देखि ९७ किलोमिटर गतिमा उडाउन सकिने एक्यापले जनाएको छ। यसलाई संरक्षित वन तथा वनपैदावरको संरक्षण, वन्यजन्तुको चोरी शिकारी नियन्त्रण र वन क्षेत्रमा हुने विभिन्न अवाञ्छित गतिविधि रोक्न प्रयोग गरिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button