१६ असार २०८३, मंगलवार

चीनले बीआरआई परियोजना अगाडि बढाउन पहल थाल्यो, जुन २ मा संयुक्त बैठक बस्दै

काठमाडौँ। नेपालसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरू अगाडि बढाउन पहल थालेको छ। यसका लागि उच्चस्तरीय भ्रमण तथा बैठकहरूको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सन् २०१७ मा भएको बीआरआई समझदारीपत्र र सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआई फ्रेमवर्कका आधारमा विभिन्न परियोजनाहरू अगाडि बढाउन आन्तरिक छलफल भइरहेको हो। सो भ्रमणका क्रममा दुई देशबीच १० वटा आयोजना अघि बढाउने सहमति भएको थियो। तर, विभिन्न कारणले धेरैजसो आयोजना अलपत्र अवस्थामा छन्। ती आयोजना हाल कुन अवस्थामा छन् भन्नेबारे परराष्ट्र मन्त्रालयले खोजीनिती गर्न लागेको मन्त्रालयका एक अधिकारीले बताए।

परराष्ट्र मन्त्रालयका अनुसार आगामी जुन २ मा ‘नेपाल–चीन सहयोग कार्यक्रम तथा आयोजना कार्यान्वयन सहजीकरण संयन्त्र’ को बैठक बस्ने भएको छ। सो बैठकअघि नै ती आयोजनाबारे मन्त्रालयले अध्ययन गरिसक्ने बताइएको छ। स्रोतका अनुसार बैठकको नेतृत्व नेपालतर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनतर्फबाट नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गर्नेछन्।

बैठकमा नेपालमा चिनियाँ अनुदान र सहुलियतपूर्ण ऋणमा सञ्चालित आयोजनाको प्रगति समीक्षा गरिनेछ। साथै, ढिलासुस्ती भएका कामको समीक्षा गर्दै तिनलाई चाँडो अगाडि बढाउने विषयमा छलफल हुनेछ। विशेषगरी स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग मर्मत तथा सुधार, चिलिमे–रसुवागढी–केरुङ २२० केभी प्रसारण लाइन, नेपाल–चीन अन्तरदेशीय रेलमार्ग, काठमाडौँ चक्रपथ सुधार, टोखा–छहरे सुरुङमार्ग र हिल्सा–सिमकोट सडक आयोजनाजस्ता परियोजना अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ।

यी आयोजनालाई गति दिन दुई देशबीच उच्चस्तरीय छलफल भई पत्रसमेत आदानप्रदान भइसकेको छ। यस संयन्त्रको बैठकपछि चीनमा अर्को संयुक्त परामर्श संयन्त्रको १७औँ बैठक पनि बस्ने स्रोतले दाबी गरेको छ। उक्त बैठकमा भाग लिन परराष्ट्र सचिव राई आफैँ चीन जाने बताइएको छ।

यी दुवै बैठक बस्नुअघि चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष झो पेङ नेपाल भ्रमणमा आउन लागेका छन्। उनले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने बताइए पनि यसबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button