मन्त्री पाण्डेयकै गाडीलाई ट्राफिकले काट्यो जरिवाना पुर्जी

सिद्धार्थनगर। ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डेयको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ। मन्त्री पाण्डेय चढ्ने लु१झ ७४५ नम्बरको स्कारपियो सिद्धार्थनगर नगरपालिका–८ बुद्धचोकस्थित निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएपछि ट्राफिकले पाँच सय रुपैयाँको चिट काटेको हो।
सामाजिक सञ्जालमा यो विषय भाइरल भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको बताइएको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रतिमा कार्कीले ‘नो पार्किङ’ क्षेत्रमा गाडी पार्किङ गरेको आरोपमा पाँच सय रुपैयाँको चिट काटिएको जानकारी दिइन्। ट्राफिक प्रहरीले निषेधित क्षेत्रमा सवारीसाधन पार्किङ नगर्न सर्वसाधारणलाई अपिलसमेत गरेको छ।
लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश सरकारमा सहभागी पाण्डेय सिद्धार्थनगरका स्थायी बासिन्दा हुन्। उनी प्रदेशको राजधानीभन्दा बढी सिद्धार्थनगर क्षेत्रमै बस्ने गरेका छन्।





