१६ असार २०८३, मंगलवार

प्रकृति संरक्षणमा अर्धशताब्दीयोगदान : नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको विशेष सम्मान

काठमाडौँ — विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण र सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरूप विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ।

कोषको ३३औँ स्थापना दिवसका अवसरमा मङ्गलबार उक्त सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ। यसअघि सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई शून्य सिकार वर्षका रूपमा मनाउन सफल भएकाले सेनाका विभिन्न छ वटा युनिट ‘अब्राहम कन्जर्भेसन अवार्ड’ बाट सम्मानित भइसकेका छन्। यसका साथै बर्दिया राष्ट्रिय निकुञ्ज यसअघि ‘डबल टाइगर अवार्ड’ बाट समेत सम्मानित भएकोमा यस वर्ष वन्यजन्तु कोषले पुनः विशेष सम्मान प्रदान गरेको छ।

नेपाली सेना विसं २०३२ देखि औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ। हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा आठ वटा गण, सात अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालय तैनाथ रहेका छन्। यी युनिटका करिब एक हजारभन्दा बढी फौज निरन्तर परिचालित हुँदै आएको सेनाले जनाएको छ।

सेनाको निरन्तरको संरक्षण प्रयासको परिणामस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघको सङ्ख्या बढेर हाल ३५५ पुगेको छ भने सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एकसिङ्गे गैँडाको सङ्ख्या हाल ७५२ पुगेको छ।

जटिल भौगोलिक बनावट, मौसमी प्रतिकूलता तथा विषम परिस्थितिका बाबजुद प्रकृति र पर्यावरण संरक्षणको क्षेत्रमा सुम्पिएको जिम्मेवारी सेनाले सफलतापूर्वक सम्पादन गर्दै आइरहेको छ। यस क्रममा हालसम्म नेपाली सेनाका ११६ जनाले ज्यान गुमाइसकेको पनि सेनाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button