पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले थुनामा रहेका नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पूर्वमन्त्री गुप्तालाई छाड्न आदेश दिएको हो। सर्वोच्चले गुप्तालाई ५० लाख रुपैयाँ धरौटी वा त्यसबराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको छ।
गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको निर्णय उल्टाउँदै सर्वोच्चले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
पूर्वसामान्य प्रशासनमन्त्री गुप्तालाई २०८२ पुस १७ गते विशेष अदालतले थुनामा राख्न आदेश दिएको थियो। त्यो आदेशपछि उनी डिल्लीबजार कारागारमा थुनिएका थिए।





