सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच थापाथली चोकमा चर्काचर्की

काठमाडौँ — काठमाडौंको थापाथली चोकमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच वादविवाद भएको छ।
दिउँसो करिब ३ बजे हरियो बत्ती बलेपछि सांसद तामाङ चढेको गाडीको चालकले गाडी अघि बढाउन खोज्दा ट्राफिक प्रहरीले रोकेका थिए। हरियो बत्ती बलेपछि पनि गाडी अघि बढ्न नदिएपछि सांसद तामाङ रुष्ट बनेकी थिइन्।
उनका अनुसार गुनासो राख्दा गुट्खा चपाइरहेका ट्राफिक प्रहरीले राम्ररी जवाफ नदिएपछि विवाद भएको हो। आफूले सांसदको हैसियतले नभई सर्वसाधारण यात्रुकै रूपमा प्रश्न गरेको उनको भनाइ छ।
ती ट्राफिक प्रहरीसँग केहीबेर वादविवाद भएपछि ‘यस्तो अन्याय पनि हुन्छ’ भन्दै सांसद तामाङ गाडीबाट उत्रिएकी थिइन्। त्यसपछि उनले नजिकै रहेका अर्का ट्राफिक प्रहरीसँग आफ्ना कुरा राखेकी थिइन्।





