देउवा समूहद्वारा अनामनगरमा सम्पर्क कार्यालय स्थापना

काठमाडौँ — नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले काठमाडौँको अनामनगरमा सम्पर्क कार्यालय खोलेको छ।
कांग्रेस महासमिति सदस्य मनोहरि श्रेष्ठका अनुसार वैशाखदेखि उक्त सम्पर्क कार्यालय स्थापना गरिएको हो। विभिन्न जिल्लाबाट आउने नेता कार्यकर्तासँग भेटघाट र बैठक गर्ने उद्देश्यले कार्यालय खोलिएको उनले जानकारी दिए।
‘विभिन्न जिल्लाबाट साथीहरू आएका हुन्छन्, कहाँ भेट्ने, कहाँ जाने, ठाउँ हुँदैन, त्यसले गर्दाखेरी हामीले चाहिँ यो अफिस, सम्पर्क अफिस खोलेका हौं,’ श्रेष्ठले भने। विशेष गरी कांग्रेसको हुन लागेको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गरी कार्यालय स्थापना गरिएको उनको भनाइ छ।
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि देउवा समूह स्थापनसँग रुष्ट रहेको छ।





