१६ असार २०८३, मंगलवार

प्रधानन्यायाधीश शर्माको पहिलो दिन : संवैधानिक इजलास स्थगित, रोकिएका निवेदन दर्ता हुने

काठमाडौँ। हिजो राति पदबहाली गरेका प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वमा सर्वोच्च अदालतले आज पहिलो इजलास तोकेको छ। हिजो बिहान १६ वटा उजुरीमाथि सुनुवाइ, संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ, अपराह्न सिफारिस, बेलुकी शपथ र राति नै पदबहाली गरिएको थियो।

आज बुधबार भने नियमित रूपमा राखिने संवैधानिक इजलास तोकिएको छैन। हिजोसम्म कायममुकायम प्रधानन्यायाधीश रहेकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल दुई साता बिदामा बसेकी छन्।

यता, नयाँ प्रधानन्यायाधीशले कार्यभार सम्हालेलगत्तै अदालत प्रशासनले रोकेका बेरित आदेश बदर निवेदन दर्ता हुने जनाइएको छ। त्यसैगरी, पेन्डिङमा रहेका रिटहरू दरपीठ गरिने भएको छ। यसअघि सोमबार कायममुकायम प्रधानन्यायाधीश मल्लले ती रिट तत्काल दर्ता गरेर हिजोको इजलासमा राख्न आदेश दिएकी थिइन्, तर सर्वोच्च प्रशासनले उनको आदेश लत्याएको थियो।

सर्वोच्चले आज हुने भनिएको संसद् विघटनको मुद्दाको पेसीलाई स्थगित गरेको छ। पेसीको क्रम सङ्ख्या ५५ मा रहेको मुद्दा आज सुनुवाइ नहुने गरी धकेलिएको छ। त्यसैगरी, निजामती कर्मचारी युनियनको मुद्दालाई पनि पेसी सूची नम्बर ७ मा राखेर स्थगित गरिएको छ। यसअघि उक्त मुद्दामा पूर्ण इजलासले दर्ता खारेज रोक्ने आदेश गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button