दुर्गा प्रसाईं पक्राउ प्रकरण : २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले उक्त आदेश जारी गरेको हो।
आदेशमा बाटाको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ। अदालतले दुवै पक्षलाई आगामी सुनुवाइका लागि बोलाएको छ।





