सी-पुटिन वार्ता : मैत्री सन्धि निरन्तरता, रणनीतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने सहमति

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार बेइजिङस्थित पिपुल्स ग्रेट हलमा वार्ता सम्पन्न भएको छ। दुवै पक्षले चीन-रुस असल छिमेकीपन तथा मैत्रीपूर्ण सहकार्य सन्धिलाई थप विस्तार गर्न सहमति जनाएका छन्।
यस वर्ष चीन-रुस रणनीतिक सहकार्य साझेदारी स्थापनाको ३०औँ वार्षिकोत्सव तथा द्विपक्षीय मैत्री सन्धिमा हस्ताक्षर भएको २५औँ वार्षिकोत्सव रहेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशले अटुट दृढताका साथ राजनीतिक पारस्परिक विश्वास र रणनीतिक समन्वयलाई निरन्तर गहिरो बनाउँदै लगेकाले नै आजको सम्बन्ध सम्भव भएको बताए। उनले दुवै देशले अविचलित सङ्कल्पका साथ अन्तर्राष्ट्रिय न्याय र निष्पक्षताको रक्षा गर्दै मानवजातिको साझा भविष्यको समुदाय निर्माणलाई अघि बढाइरहेको धारणा राखे।
‘संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य तथा विश्वका महत्त्वपूर्ण प्रमुख राष्ट्रका रूपमा चीन र रुसले रणनीतिक र दीर्घकालीन दृष्टिकोण अपनाउँदै अझ उच्च गुणस्तरको व्यापक रणनीतिक समन्वयमार्फत आआफ्ना देशको विकास र पुनरुत्थानलाई प्रवर्द्धन गर्नुपर्छ,’ राष्ट्रपति सीले भने। उनले विश्व शासन प्रणालीलाई अझ न्यायपूर्ण र उचित बनाउने दिशामा पनि काम गर्नुपर्नेमा जोड दिए।
दुई देशले समानता, पारस्परिक सम्मान, सद्भाव र जीत-जीत सहकार्यको आधारमा नयाँ युगको व्यापक रणनीतिक सहकार्य साझेदारी विकसित गरेको उल्लेख गर्दै राष्ट्रपति सीले राजनीतिक आपसी विश्वास झन् गहिरो भएको र व्यापार, अर्थतन्त्र, लगानी, ऊर्जा, विज्ञान-प्रविधि, जनस्तर र उपराष्ट्रिय आदानप्रदानलगायत विविध क्षेत्रमा सहकार्य अघि बढिरहेको बताए। उनले चीन-रुस सम्बन्ध ठूला उपलब्धि र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको धारणा राखे।
चीन-रुस सम्बन्धको दीर्घकालीन, सुदृढ, स्थिर र उच्च गुणस्तरीय विकासलाई अटुट रूपमा प्रवर्द्धन गर्नु दुई देशको आधारभूत हित र विश्वव्यापी प्रवृत्तिमा आधारित रणनीतिक छनोट भएको राष्ट्रपति सीले बताए। उनले दुवै पक्षले राष्ट्रिय विकास र पुनरुत्थानको लक्ष्यमा केन्द्रित रहँदै व्यापक एवं सुस्थापित सहकार्य संयन्त्रको पूर्ण उपयोग गर्नुपर्ने र व्यापार-लगानी, ऊर्जा-स्रोत, यातायात र विज्ञान-प्रविधि नवाचारमा व्यावहारिक सहकार्यको स्तरोन्नति गर्नुपर्ने बताए। साथै, नयाँ गुणस्तरीय उत्पादक शक्तिमार्फत नयाँ विकासको इन्जिन निर्माण गर्न अग्रगामी क्षेत्रमा सहकार्य खोजी गर्न पनि उनले आह्वान गरे।
दीर्घकालीन मित्रतालाई निरन्तरता दिन शिक्षा, संस्कृति, चलचित्र, पर्यटन र खेलकुदमा आदानप्रदान तथा सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति सीले संयुक्त राष्ट्र, सांघाई सहयोग सङ्गठन (एससीओ), ब्रिक्स र एपेकजस्ता मञ्चमा समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए। उनले युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था र अन्तर्राष्ट्रिय कानुनको अधिकारको दृढतापूर्वक रक्षा गर्न, ग्लोबल साउथलाई एकताबद्ध गर्न र विश्व शासन प्रणालीको सुधारलाई सही दिशामा अघि बढाउन पनि आह्वान गरे।
राष्ट्रपति पुटिनले दुवै पक्षको साझा प्रयासमा रुस-चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको, उच्चस्तरीय आदानप्रदान निकट र राजनीतिक पारस्परिक विश्वास सुदृढ रहेको बताए। द्विपक्षीय व्यापार स्थिर रूपमा वृद्धि भइरहेको, ऊर्जा आपूर्ति र माग पारस्परिक लाभदायक रहेको, यातायात, रसद, विज्ञान-प्रविधिलगायत क्षेत्रमा सहकार्य निरन्तर गहिरो हुँदै गएको र जनस्तरको आदानप्रदानले सकारात्मक गति लिएको उनले उल्लेख गरे। रुस-चीन सम्बन्ध परीक्षणबाट गुज्रिँदै समयसँगै झन् बलियो भएको र यो व्यापक रणनीतिक समन्वयको प्रतिमान बनेको पुटिनको भनाइ थियो।
हालको परिस्थितिमा असल छिमेकीपन तथा मैत्रीपूर्ण सहकार्य सन्धि झन् सान्दर्भिक भएको उल्लेख गर्दै पुटिनले सन्धिको भावनाअनुरूप रणनीतिक समन्वय र व्यावहारिक सहकार्यलाई सुदृढ गर्न र द्विपक्षीय सम्बन्धलाई उच्च स्तरमा पुर्याउन चीनसँग मिलेर काम गर्न रुस तयार रहेको बताए। उनले रुस-चीन सहकार्य अस्थिर अन्तर्राष्ट्रिय परिस्थितिमा महत्त्वपूर्ण स्थिरताकारक तत्त्व भएको बताउँदै एपेक आर्थिक नेताहरूको बैठक सफलतापूर्वक आयोजना गर्न चीनलाई समर्थन गर्ने, एससीओको हैसियत र प्रभाव बढाउने, ब्रिक्स सङ्यन्त्रभित्र एकता र समन्वय सुदृढ गर्ने, संयुक्त राष्ट्रको अधिकारको रक्षा गर्ने, सभ्यताको विविधताको पक्षपोषण गर्ने र अझ न्यायपूर्ण एवं समतापूर्ण अन्तर्राष्ट्रिय व्यवस्थालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए।
दुई नेताबीच मध्यपूर्वको अवस्था र अन्य प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा पनि विचार आदानप्रदान भएको थियो। उनीहरूले लगानी, ऊर्जा, अर्थतन्त्र र व्यापारलगायत क्षेत्रमा भएको सहकार्यको प्रगतिबारे प्रतिवेदन सुनेका थिए भने दुई देशका विदेशमन्त्रीहरूले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा चीन-रुसबीचको समन्वय र सहकार्यबारे जानकारी गराएका थिए।
वार्तापश्चात् दुई राष्ट्रपतिले व्यापक रणनीतिक समन्वयलाई थप प्रवर्द्धन तथा दुई देशबीचको असल छिमेकीपन र मैत्रीपूर्ण सहकार्यलाई गहिरो बनाउनेसम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर र जारी गरेका छन्। साथै, उनीहरूले अर्थतन्त्र-व्यापार, शिक्षा र विज्ञान-प्रविधिलगायत क्षेत्रमा २० वटा सहकार्य दस्तावेजमा हस्ताक्षर भएको अवलोकन गरे।
पुटिनको भ्रमणका क्रममा चीन र रुसले बहुध्रुवीय विश्व र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको प्रवर्द्धनसम्बन्धी संयुक्त वक्तव्य पनि जारी गरेका छन्। दुई पक्षबीच अन्य क्षेत्रमा समेत २० वटा सहयोग सम्झौता भएको छ। वार्तापछि राष्ट्रपति सी र पुटिनले संयुक्त रूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।
यसअघि, राष्ट्रपति सीले पिपुल्स ग्रेट हलको पूर्वी प्रवेशद्वार बाहिर राष्ट्रपति पुटिनको लागि स्वागत समारोह आयोजना गरेका थिए, जसमा सैन्य ब्यान्ड प्रस्तुति, २१ तोपको सलामी र गार्ड अफ अनरको मार्च-पास्ट समावेश थियो।





