प्रधानमन्त्री शाहले सैनिक मुख्यालय जान अप्ठेरो माने, प्रधानसेनापति टेनिस प्रतियोगिताको प्रमुख आतिथ्यता अस्वीकार

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले सैनिक मुख्यालय भद्रकाली जान अप्ठेरो मानेका छन्। रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उनले नेपाली सेनाले आयोजना गरेको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३ को अन्तिम दिनको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि बन्न अस्वीकार गरेको बुझिएको छ।
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा अस्तिदेखि सैनिक मुख्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा १३ वटा इभेन्टमा १३ क्लबका २१८ जना प्रतियोगी सहभागी छन्। २०७८ सालदेखि सञ्चालन हुँदै आएको यस प्रतियोगितामा खुल्लातर्फ पुरुष एकल र युगल, महिला एकल र युगल, भेट्रान्सतर्फ ३५ वर्षमाथिदेखि ७० वर्षमाथिसम्मका विभिन्न विधा समावेश छन्। प्रतियोगिता आगामी १२ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिता उद्घाटन बलाधिकृत रथी प्रदीपजंग केसीले गरेका थिए। तर, अन्तिम दिनको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि रक्षामन्त्रीलाई बनाउन खोज्दा प्रधानमन्त्रीलाई निम्तो गर्नुपरेको हो। सेनाको अनुरोधलाई प्रधानमन्त्रीले अस्वीकार गरेको स्रोतको दाबी छ। यसअघि गत चैत २६ गते भक्तपुरको खरिपाटीस्थित सैनिक तालिम केन्द्रमा आयोजित अधिकृत पास आउट समारोहमा उपस्थित भएर संसद् बैठकलगायत कार्यक्रममा नगएका शाहको चर्को आलोचना भएको थियो। अहिले पुनः सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा जाँदा उक्त आलोचनाले उग्र रूप लिने बुझाइका कारण प्रधानमन्त्री र उनको सचिवालयले निम्तो अस्वीकार गरेको हो।
यता, पुरस्कृत खेलाडीलाई प्रदान गरिने प्रमाणपत्रमा रक्षामन्त्रीको दस्तखत, प्रतियोगितासम्बन्धी कागजातमा रक्षामन्त्रीको स्वीकृतिलगायत कार्यका लागि सैनिक अधिकारीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्नुपर्ने अवस्था उत्पन्न भएको छ। ‘जति अनुरोध गरे पनि नआउने पक्काजस्तै छ, अब उतै गएर कागजी प्रक्रिया पूरा गरी प्रतियोगिता समापन गर्नुको विकल्प देखिएन,’ सैनिक अधिकारीहरूको हवाला दिँदै स्रोतले भन्यो। सामान्यतया रक्षामन्त्रीले नियुक्ति हुनासाथ जङ्गी अड्डा गएर ब्रिफिङ लिने चलन भए पनि त्यो काम अहिलेसम्म हुन सकेको छैन। बरु, रक्षा मन्त्रालयमा प्रधानसेनापतिसहित रथीवृन्दलाई हाजिर गराएर पावरप्वाइन्ट प्रस्तुतीकरण सुन्ने सम्भावना देखिँदैछ।





