नेपाल र साउदी अरबबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने सहमति, आगामी वर्ष स्वर्ण जयन्ती मनाइने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा साउदी विदेशमन्त्रीले मन्त्री खनाललाई बधाई दिँदै पारस्परिक हितका क्षेत्रमा नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री खनालले बधाई सन्देशप्रति आभार व्यक्त गर्दै क्षेत्रीय द्वन्द्वका बीच नेपाली नागरिकको सुरक्षा सुनिश्चित गरेकोमा नेपाल सरकारको तर्फबाट साउदी सरकारप्रति हार्दिक कृतज्ञता प्रकट गरे। उनले यस चुनौतीपूर्ण समयमा मित्रराष्ट्र साउदी अरबप्रति नेपालको ऐक्यबद्धता पनि दोहोर्याए।
दुई मन्त्रीबीच नेपाल र साउदी अरबबीचको दीर्घकालीन द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो भने द्विपक्षीय तथा बहुपक्षीय स्तरमा सहकार्य थप सुदृढ गर्ने साझा प्रतिबद्धता दोहोर्याइएको थियो। आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्ती मनाउने तयारी भइरहेका बेला दुई देशबीच व्यापार, लगानी र अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको छ। यसै क्रममा नेपालमा साउदी निजी क्षेत्रको लगानी प्रवर्द्धनका सम्भावनाबारे पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।





