भदौ २३–२४ घटना प्रतिवेदन : राष्ट्रिय मानव अधिकार आयोग स्थापना दिवसअघि सार्वजनिक गर्ने तयारीमा

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो स्थापना दिवस यही जेठ १३ गते मनाउँदै छ। सो अवसरअघि नै गत भदौ २३ र २४ को घटना छानबिन गर्न गठित सदस्य लिली थापा नेतृत्वको टोलीले बुझाएको प्रतिवेदनको संशोधित प्रतिवेदन सार्वजनिक गर्नेबारे आयुक्तहरू आज गहन छलफलमा जुटेको बुझिएको छ।
दुई महिनाअघि सम्बद्ध सबैलाई ध्यानाकर्षण गराउने खालको १० हजार पृष्ठको प्रतिवेदन थापा टोलीले अध्यक्षलाई बुझाएको थियो। उनै थापा आज सुर्खेत र दैलेख गएकाले आयोगको संयुक्त बैठकमा छैनन्। अध्यक्ष तपबहादुर मगरसहित तीन जना सदस्य आजको बैठकमा रहेको र थापा शनिबार मात्र काठमाडौँ फर्किने कार्यक्रम रहेको बुझिएको छ।
अघिल्लो महिना शरीरमा ठेउला आएकाले अध्यक्ष मगरको अनुपस्थितिमा आयोग प्रतिवेदन सार्वजनिक गर्नबाट पछि हटेको थियो। यसबीच जेन–जी पुस्ताका विभिन्न समूह प्रतिवेदन सार्वजनिकको माग गर्दै पटकपटक आयोगमा पुगिसकेका छन्। सञ्चारमाध्यमले समेत गम्भीर चासो देखाएको र समाजमा प्रतिवेदनको व्यग्र प्रतीक्षा गरिएको सन्देश प्रवाह भएको अवस्थालाई ध्यानमा राखेर आयोग पदाधिकारीहरू आगामी बुधबारअगावै सार्वजनिक गर्नुपर्ने मनस्थितिमा पुगेको बताइन्छ।
८३ वर्षीय अध्यक्षलाई प्रतिवेदन सार्वजनिक नगर्न कहाँबाट, कस्तो दबाब आएको होला भन्नेबारे आयोगका अधिकारीहरूले अनभिज्ञता प्रकट गरेका छन्। ‘व्यक्तिगत रूपमा उहाँले प्रतिवेदन सार्वजनिक गर्ने बताउँदै आउनुभएको छ। उहाँको स्वार्थ खासै केही देखिँदैन। अब आयोगको वार्षिकोत्सवअगावै प्रतिवेदन सार्वजनिक गर्नुको विकल्प नभएकोमा उहाँहरू एकमत हुनुहुन्छ जस्तो लाग्छ,’ आयोगका एक अधिकारीले भने।





