मधेसमा आर्थिक वृद्धिदर तीन वर्षयताकै सबैभन्दा कम हुने अनुमान, कृषि उत्पादनमा गिरावट प्रमुख कारण

जनकपुरधाम। मधेस प्रदेशमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन वर्षयताकै सबैभन्दा कम रहने अनुमान गरिएको छ। धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुलनात्मक रूपमा घटेकाले कृषि क्षेत्रमा नकारात्मक प्रभाव परेको र समग्र आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी समष्टिगत आर्थिक सूचकमा यस्तो जानकारी दिइएको हो। तथ्याङ्क अधिकृत नरबहादुर कुँवरका अनुसार यस पटक पर्याप्त मात्रामा पानी नपरेकाले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेको हो।
आर्थिक वर्ष २०८०/८१ मा मधेसमा तीन दशमलव १८ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा दुई दशमलव ७२ प्रतिशत आर्थिक वृद्धि रहेको थियो। लगातार दुई वर्षयता मधेसको कृषि उत्पादनमा नकारात्मक प्रभाव परेकाले आर्थिक वृद्धिदर खस्कँदै गएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३ दशमलव एक प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
तथ्याङ्क सार्वजनिकीकरण कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले मधेस प्रदेशमा कृषिको योगदान घट्दा यो समस्या आएको बताए। उनले आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखिने जानकारी दिए।





