३ असार २०८३, बुधबार

स्थिरताको सन्देश, नेपालको अवसर

सम्पादकीय

चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बेइजिङमा सम्पन्न शिखर वार्ताले विश्वलाई एउटा प्रस्ट सन्देश दिएको छ—सहकार्य, संवाद र पारस्परिक सम्मान नै २१औँ शताब्दीको दिगो भविष्यको मार्ग हो। दुई महाशक्तिले कसैविरुद्ध गठबन्धन नगरी, तर कसैको दबाबमा नझुकी अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ नमुना प्रस्तुत गरेका छन्। नेपालजस्तो सानो, सार्वभौम र सन्तुलित कूटनीतिमा विश्वास गर्ने देशका लागि यो भेटवार्ता र यसले दिएको सन्देश विशेष महत्त्वपूर्ण छ।

यो शिखर वार्ताले तीन ठूला सन्देश प्रवाह गरेको छ। पहिलो, विश्व अब एकध्रुवीय रहेन। सार्वभौम समानता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त र बहुपक्षीयताको रक्षा नै दिगो अन्तर्राष्ट्रिय व्यवस्थाको आधार हो। दोस्रो, आर्थिक सहकार्य र प्राविधिक आत्मनिर्भरताले बाह्य दबाब र प्रतिबन्धलाई परास्त गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ। दुई देशबीचको व्यापार रुबल र युआनमा हुनु, ऊर्जा र प्रविधिमा सहकार्यको विस्तार हुनुले वैकल्पिक आर्थिक प्रणालीको सम्भावना देखाएको छ। तेस्रो, संयुक्त राष्ट्रसङ्घको केन्द्रीय भूमिकाको रक्षा र अन्तर्राष्ट्रिय कानुनको पालनाको पक्षमा दुई शक्तिशाली राष्ट्रको साझा अडानले साना देशहरूको आवाजलाई बल दिएको छ।

नेपालका लागि यो घटनाक्रमले दुईवटा अवसर प्रस्तुत गरेको छ। पहिलो, चीन र रुसबीचको स्थिर सम्बन्धले दक्षिण एसियामा शक्ति सन्तुलनलाई सहज बनाउँछ, जसले नेपाललाई कुनै एक पक्षको दबाबमा नपरी स्वतन्त्र र सन्तुलित विदेश नीति सञ्चालन गर्ने वातावरण प्रदान गर्छ। दोस्रो, चीन र रुसले ग्लोबल साउथका देशहरूको विकास र आत्मनिर्भरताको पक्षमा राखेको धारणाले नेपालले आफ्नो विकास साझेदारीको दायरा फराकिलो बनाउन सक्छ। पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि र शिक्षामा दुवै देशसँगको सहकार्यले नेपालको दीर्घकालीन विकासलाई गति दिन सक्छ।

यो शिखर वार्ता नेपालका लागि पाठ पनि हो। चीन र रुसले २५ वर्षदेखि पारस्परिक सम्मान, एकअर्काको सार्वभौमिकताको रक्षा र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तका आधारमा सम्बन्ध विकास गरेका छन्। नेपालले पनि आफ्ना छिमेकी र प्रमुख शक्तिहरूसँगको सम्बन्ध यिनै सिद्धान्तमा आधारित राख्न सक्यो भने मात्र दीर्घकालीन लाभ लिन सक्छ। संवाद र सहकार्यको यो सन्देश नेपालको राष्ट्रिय हित, विकास र कूटनीतिक सन्तुलनका लागि मार्गदर्शक बन्न सक्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button