तीन सञ्चार निकायको रिक्त अध्यक्ष तथा महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

काठमाडौँ। सरकारले प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रसारण संस्थान र गोरखापत्र संस्थानको रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत आवेदन आह्वान गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थानको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि इच्छुक तथा योग्य व्यक्तिहरूबाट दरखास्त माग गरेको हो।
प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारले आगामी जेठ १८ गते सोमबार कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेस गर्नुपर्नेछ। आवेदन फाराम, आवश्यक योग्यता, पेस गर्नुपर्ने कागजात तथा अन्य विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ। तीनवटै संस्थाका लागि खुला प्रतिस्पर्धामार्फत एक/एक जना उम्मेदवार छनोट गरिने सूचनामा उल्लेख छ।





