पोखरा महानगरले फिर्केखोला र बसपार्कको अतिक्रमित जग्गा खाली गराउने, संरचना नहटाए आफैँ हटाउने चेतावनी
पोखरा। पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित पोखरा बसपार्क र फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराउने भएको छ। महानगरले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा–१८ अँधेरीकुनादेखि विभिन्न वडा हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना सम्बन्धित व्यक्ति वा संस्था आफैँले हटाउन निर्देशन दिएको छ।
महानगरको प्राविधिक टोलीले नाप गरी पोल गाडेको क्षेत्रभित्रका सबै संरचना तोकिएको अवधिभित्र नहटाएमा महानगर आफैँले हटाउने र त्यसको लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने जनाइएको छ। यसअघि गत वैशाख ४ गते पनि ३५ दिनको समय दिएर संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको थियो भने २०८० कात्तिक १० गते पनि यस्तै सूचना जारी भएको थियो। उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा परेकोमा अदालतले उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने फैसला गरिसकेको छ।
यता, प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराउन पनि महानगरले प्रक्रिया अगाडि बढाएको छ। यही जेठ ८ गतेभित्र बसपार्क क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरिने भएको छ। यसअघि निस्सा पाएकाहरूलाई जेठ ८ गतेसम्म वडा नम्बर ९ को कार्यालयमा आवश्यक कागजातसहित विवरण बुझाउन आग्रह गरिएको छ।
२०३१/३२ सालतिर बसपार्कका लागि दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएकोमा अतिक्रमणका कारण हाल करिब ६० रोपनी मात्र बाँकी छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा खाली गराएर बसपार्क निर्माण गरिने महानगर प्रमुख धनराज आचार्यले बताए।





