२१ जेष्ठ २०८३, बिहीबार

गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु

रसुवा । हिमालको काखमा रहेको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वका अवसरमा वार्षिक विशेष मेला सुरु भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिने गोसाइँकुण्डमा भगवान् शिवको दर्शन र पवित्र स्नानका लागि देशका विभिन्न स्थान तथा विदेशबाट भक्तजन पुग्न थालेका छन्।

जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुनेछ। चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री गोसाइँकुण्ड क्षेत्रमा पुगिसकेका छन्। यस वर्ष करिब पाँच हजार भक्तजनले मेला भर्ने अनुमान गरिएको छ।

धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा निस्किएको कालकूट विष भगवान् शिवले कण्ठमा धारण गरेपछि त्यसको डाह शान्त पार्न हिमालय क्षेत्र आइपुगेका थिए। शिवले त्रिशूल प्रहार गर्दा निस्किएको जलबाट गोसाइँकुण्ड बनेको जनविश्वास छ। यही कारण गोसाइँकुण्डलाई शिवसँग जोडिएको पवित्र तीर्थस्थलका रूपमा लिइन्छ।

गङ्गादशहराका दिन गोसाइँकुण्डमा स्नान गर्दा १० प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ। जनैपूर्णिमाका अवसरमा यहाँ स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने मान्यता पनि रहिआएको छ। समुद्री सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा रहेको गोसाइँकुण्ड पुग्न कठिन भए पनि कुण्डमा स्नान गरेपछि यात्राको थकान हराउने तीर्थयात्रीहरू बताउँछन्।

काठमाडौँको बालाजुबाट सुरु हुने यात्रा शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती र कालिकास्थान हुँदै रसुवाको धुञ्चे पुग्छ। धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक र गणेश गौंडा हुँदै तेर्सो ककरो भिर पार गरेपछि गोसाइँकुण्ड पुगिन्छ।

यात्रुको चाप बढ्ने अनुमानसहित स्थानीय होटल व्यवसायीहरूले खाद्यान्न ढुवानी तथा आवासको व्यवस्था मिलाएका छन्। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार जेठ ९ देखि १२ गतेसम्म कुण्ड क्षेत्रमा विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिएको छ।

मेलाका क्रममा तीर्थयात्रीको सुरक्षा, उद्धार र यात्रामा देखिन सक्ने समस्या समाधानका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ। लौरीविनायकभन्दा माथिको क्षेत्रमा लेक लाग्ने सम्भावना हुने भएकाले स्वास्थ्यकर्मीहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।

स्वास्थ्यकर्मीहरूले धुञ्चेमा एक रात बसेर वातावरणसँग अभ्यस्त भएपछि मात्र उकालो यात्रा गर्न सुझाव दिएका छन्। यात्राका क्रममा अदुवा, कागती, लसुन र बिरेनुन साथमा राख्न पनि सुझाव दिइएको छ। पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँबाट हेलिकोप्टर सेवा उपलब्ध रहेको जनाइएको छ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न आग्रह गरेका छन्। उनले हिमाली वातावरणको संरक्षणलाई नै भगवान् शिवप्रतिको सच्चा श्रद्धा भएको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button