पाँच समस्याग्रस्त बाघ आजीवन खोरमा

बर्दिया । बर्दियामा विभिन्न समयमा मानिसमाथि आक्रमण गरी ज्यान लिएका पाँचवटा समस्याग्रस्त बाघलाई खोरमा राखिएको छ। पछिल्लो करिब एक दशकमा नियन्त्रणमा लिइएका ती बाघलाई फलामका बलिया खोरमा राखिएको बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जका अनुसार मानिसमाथि आक्रमण गरेको प्रमाणित भएका समस्याग्रस्त बाघलाई पुनः प्राकृतिक वासस्थानमा छाड्न मिल्दैन। त्यसैले यस्ता बाघले बाँकी जीवन खोरमै बिताउनुपर्ने हुन्छ। खोरमा रहेका बाघ वयस्क र आक्रामक भएकाले ती राखिएका क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ।
थुनामा रहेका बाघले मानिस देख्नेबित्तिकै कराउने, आत्तिने र आक्रोशित व्यवहार देखाउने भएकाले सुरक्षा सतर्कता अपनाइएको निकुञ्जले जनाएको छ। करिब ६ वर्षअघि गेरुवा गाउँपालिका–४ राजीपुरका ६८ वर्षीय लहानु थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो। उनी गाईगोरु चराउन मध्यवर्ती क्षेत्रको झाडीमा पुगेका बेला बाघले आक्रमण गरेको थियो।
उक्त घटनापछि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले बाघको पहिचान र नियन्त्रण प्रक्रिया अघि बढाएका थिए। बाघको पहिचानका लागि राजीपुरसहित आसपासका क्षेत्रमा ट्र्यापिङ क्यामेरा जडान गरिएको थियो। क्यामेरामा कैद भएको आधारमा बाघलाई नियन्त्रणमा लिई ठाकुरद्वारास्थित निकुञ्ज मुख्यालयमा रहेको वन्यजन्तु थुनास्थलमा राखिएको हो।
यस्तै, खाता जैविक मार्गअन्तर्गत कुशमनिया सामुदायिक वनमा २०७९ भदौ २६ गते भैँसी चराउन गएका रामदिन थारुको पनि बाघको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाको अभिलेखमा उल्लेख छ। उक्त घटनामा संलग्न बाघको पनि पहिचान गरी नियन्त्रणमा लिइएको थियो।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार २०५६ सालयता निकुञ्ज, मध्यवर्ती क्षेत्र र डिभिजन वन कार्यालयअन्तर्गतका सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणबाट हालसम्म ३५ जनाले ज्यान गुमाएका छन्।
निकुञ्जका सूचना अधिकारी तथा वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार हाल बर्दिया निकुञ्जको मुख्यालयमा दुईवटा भाले बाघ र रम्मापुर पोस्टमा दुई भाले तथा एक पोथीसहित पाँच समस्याग्रस्त बाघ खोरमा राखिएका छन्। उनका अनुसार खोरमा रहेका बाघलाई एक दिन बिराएर करिब सात किलो राँगाको मासु दिइने गरिएको छ।
“समस्याग्रस्त बाघ प्राकृतिक वासस्थानमा छाड्न मिल्दैन,” पौडेलले भने, “त्यसैले यस्ता बाघ आजीवन खोरमै बस्नुपर्ने हुन्छ।”
बर्दिया निकुञ्जका खोर भरिँदै गएपछि थप समस्याग्रस्त बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आए अन्य निकुञ्जका खाली खोरमा पठाउनुपर्ने निकुञ्ज प्रशासनले जनाएको छ। बाघको नियमित स्वास्थ्य अवस्था टाढैबाट पशु स्वास्थ्यकर्मीले निगरानी गर्ने गरेका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फा हाम्फेका अनुसार बाघ गम्भीर बिरामी भएमा मात्रै डार्ट गरेर नजिकबाट परीक्षण र उपचार गरिन्छ। डार्टको प्रयोग बारम्बार गर्न नमिल्ने भएकाले सामान्य अवस्थाको निगरानी टाढैबाट गरिने उनले बताए।
बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को गणनामा ८७ वटा बाघ फेला परेका थिए। हाल यो संख्या बढेर १२५ पुगेको निकुञ्जले जनाएको छ। पछिल्लो बाघ गणनाको नतिजा साउन महिनामा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
बर्दिया निकुञ्जमा समस्याग्रस्त वन्यजन्तुका रूपमा एउटा गैँडा १६ वर्षदेखि खोरमा राखिएको छ भने एउटा चितुवा पनि एक वर्षदेखि थुनामा रहेको निकुञ्ज प्रशासनले जनाएको छ।





