पाल्पामा विषालु च्याउको जोखिम, एक सातामा दुईको मृत्यु

पाल्पा । पाल्पामा विषालु च्याउ सेवनबाट एक साताभित्र दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी परेका छन्। जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि बिरामी परेका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका अनुसार कामु मगरको जेठ ४ गते र खाम्चाको जेठ ५ गते मृत्यु भएको थियो।
सोही गाउँकी ५० वर्षीया यानुमाया जर्घाको मिसन अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले उनको अवस्था गम्भीर रहेको जनाएको छ। उनीहरूले गत जेठ १ गते जंगलबाट च्याउ ल्याएर पकाइ खाएका थिए। त्यसपछि बिरामी परेपछि उनीहरूलाई सुरुमा ताहुँस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराई थप उपचारका लागि तानसेनको मिसन अस्पताल पठाइएको थियो।
यसैबीच तानसेन नगरपालिका–११, भालुवन घर भई हाल तानसेन नगरपालिका–४ मा बस्दै आएका एकै परिवारका चार जना पनि विषालु च्याउ सेवनबाट बिरामी परेका छन्। उनीहरूको पनि मिसन अस्पतालमा उपचार भइरहेको छ।
तानसेन नगरपालिका–८, मदनपोखरा कोकलका दुई जना पनि विषालु च्याउ खाएर बिरामी परेका थिए। उनीहरू लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारपछि घर फर्किएका छन्।
त्यस्तै, माथागढी गाउँपालिका–३, कसेनी भैंसीकट्टामा विषालु च्याउ खाएर बिरामी परेका चार जना उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधु भट्टराईले जानकारी दिए।
उनका अनुसार निस्दी गाउँपालिका–४, मित्यालका दुई जना पनि विषालु च्याउ सेवनपछि बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि मध्यविन्दु अस्पताल लगिएको थियो। दुवैको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनको भरतपुर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।
वर्षायाम सुरु भएसँगै जंगलमा विभिन्न प्रजातिका च्याउ उम्रिने भएकाले स्थानीयस्तरमा संकलन गरी खाने क्रम बढ्ने गर्छ। तर, खानयोग्य र विषालु च्याउ छुट्याउन कठिन हुने भएकाले स्वास्थ्यकर्मीहरूले जथाभावी जंगलबाट ल्याएको च्याउ सेवन नगर्न आग्रह गरेका छन्।
स्वास्थ्य कार्यालयले च्याउ खाएपछि बान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, रिँगटा लाग्ने, कमजोरी महसुस हुने वा बेहोस हुनेजस्ता लक्षण देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जान सुझाव दिएको छ। समयमा उपचार नपाए विषालु च्याउको असर कलेजो, मिर्गौला र स्नायु प्रणालीमा गम्भीर रूपमा पर्न सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ।
पाल्पाका विभिन्न स्थानीय तहमा छोटो अवधिमै विषालु च्याउ सेवनका घटना बढेपछि स्वास्थ्य कार्यालय र स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।





