प्रधानमन्त्रीलाई संसदमा खोज्दै प्रतिपक्षीको अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ — प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित भएर जवाफ दिन माग गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।
अपराह्न २:४५ बजे संसद बैठक स्थगित भएको हो। नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राप्रपाले प्रधानमन्त्री खोज्दै बैठकमा अवरोध कायम राखेका थिए।
प्रधानमन्त्री शाह बैठकमा उपस्थित भएर आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने र नभएसम्म अवरोध कायम रहने अडान प्रतिपक्षीले लिएपछि सभामुख अर्यालले बैठक स्थगित गरेका हुन्।
प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने संसदीय नियमावलीको व्यवस्था रहेको तर त्यसको उल्लंघन भएको भन्दै प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सभामुखले रुलिङ गर्नुपर्ने माग राखेका छन्।
यद्यपि, सभामुख अर्यालले रुलिङ गर्न अस्वीकार गर्दै आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद बैठक सुचारु गर्न सहयोग गर्न आग्रह गरेका छन्।





