प्रधानमन्त्रीलाई भेट्न गएका सभामुख रित्तो हात फर्किए, संसद अन्योलमा

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थितिका लागि आग्रह गर्न गएका सभामुख डोलप्रसाद अर्याल सकारात्मक जवाफ नपाएर रित्तो हात फर्किएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीले नियमावलीअनुसार प्रश्नोत्तर गर्नुपर्ने माग राख्दै सदन अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई अवस्थाको जानकारी दिँदै सदनमा उपस्थित हुन आग्रह गर्न गएका थिए। तर, उनले सकारात्मक जवाफ पाएनन्।
विपक्षी दलहरूले नियमावलीको नियम ५६ अनुसार महिनाको पहिलो हप्ता प्रश्नोत्तर गर्नुपर्ने माग राख्दै बुधबारको संसद बैठक पनि अवरोध गरेका थिए। सरकारको नीति तथा कार्यक्रमको छलफल तथा जवाफमा समेत संसदमा उपस्थित नभएका प्रधानमन्त्री शाह त्यसयता सदन छल्दै आएका छन्।
त्यसप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएपछि अर्याल प्रधानमन्त्रीलाई सदनमा आउन आग्रह गर्न गएका थिए। संसद बैठक १५ मिनेटका लागि स्थगित गरेर सिंहदरबार परिसरमै रहेका प्रधानमन्त्री शाहलाई भेट्न गए पनि सकारात्मक जवाफ नपाएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए।





