सुधन प्रकरण छानबिन समितिका सदस्य शोभाकान्त पौडेल नेपाल बैंकको अध्यक्ष नियुक्त

काठमाडौँ — सम्पत्तिको लफडा र विवादास्पद व्यापारी दीपक भट्टसँगको आर्थिक साझेदारी विवादमा मुछिएर पद गुमाएका पूर्व गृहमन्त्री एवं रास्वपा सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिका सदस्य शोभाकान्त पौडेललाई सरकारले नेपाल बैंकको अध्यक्ष नियुक्त गरेको छ।
व्यापारी भट्टसँगको साझेदारी विवाद सार्वजनिक भएपछि गुरुङले वैशाख १० गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनलाई सोही जिम्मेवारीमा फर्काउने तयारी भइरहेका बेला गुरुङसँग पुरानो सम्बन्ध रहेको चर्चा हुने पौडेललाई सरकारले पुरानो बैंकको अध्यक्ष बनाएको हो।
राजस्व अनुसन्धान विभागको जिम्मेवारी सम्हालिसकेका पौडेलको सुधन गुरुङसँग पहिलेदेखि सुमधुर सम्बन्ध रहेको चर्चा राजनीतिक वृत्तमा छ। हाल उनी अर्थ मन्त्रालय मातहत महालेखा नियन्त्रकको कार्यालयमा महालेखा नियन्त्रकको रूपमा कार्यरत छन् र अर्थ सचिव बन्न इच्छुक रहेको बताइन्छ।
यसैबीच, सरकारले गुरुङ प्रकरणमा १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित वैशाख ३१ गते उच्च अदालतका पूर्व न्यायाधीश अच्युत भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। सोही समितिका सदस्य पौडेललाई अब बैंकको अध्यक्ष बनाइएको हो।
सरकारले विभिन्न अध्यादेश जारी गरेर झन्डै १६ सय जना सरकारी पदाधिकारीलाई अवकाश दिएको सन्दर्भमा नेपाल बैंकका यसअघिका अध्यक्षले राजीनामा दिएका थिए। सोही रिक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि पौडेललाई नियुक्त गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।





