१५ असार २०८३, सोमबार

प्रधानमन्त्रीको अनुपस्थितिमा लामिछानेको गोलमटोल जवाफ : ‘उहाँ आउनुहुन्छ, आएपछि सबै थाहा पाइहाल्नुहुन्छ’

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसदमा प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितिबारे गोलमटोल जवाफ दिएका छन्। आफ्नै पार्टीका प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गरिरहेका बेला संसद भवनबाट बाहिरिने क्रममा लामिछानेले अस्पष्ट प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री किन संसदमा उपस्थित नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले भने, ‘प्रधानमन्त्री नआउने भन्ने कुरै हुँदैन, उहाँ आउनुहुन्छ। आएपछि सबै कुरा थाहा पाइहाल्नुहुन्छ।’

संसदमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विपक्षी दलहरूले बिहीबार सदन अवरोध गरेका थिए। पहिलो बैठकमा अवरोध भएपछि प्रधानमन्त्रीलाई सदनमा बोलाउन गएका सभामुख डोलप्रसाद अर्याल ‘आउँदिन’ भन्ने जवाफ सुनेर फर्किएका थिए। प्रधानमन्त्रीको अपमानजनक जवाफपछि फर्किएका अर्यालले विपक्षी दलहरूको नाराबाजी र वेल घेराउका बीच संसद सञ्चालन गरेका थिए।

सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफमा समेत प्रधानमन्त्री शाह उपस्थित भएनन्। त्यसयता उनले निरन्तर सदनलाई बेवास्ता गर्दै आएका छन्। प्रधानमन्त्रीले सदनलाई बेवास्ता गरेको विषयमा रास्वपाभित्र पनि असन्तुष्टि बढ्दै गएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button