कक्षा १२ को परीक्षापछिको खाली समय सदुपयोग : नेपाल फिल्म क्याम्पसको ‘युथ फिल्म मेकर्स क्याम्प–२०२६’ आउँदै

काठमाडौँ — चलचित्र विषयमा स्नातक तह अध्यापन गराइरहेको अग्रणी शैक्षिक संस्था नेपाल फिल्म क्याम्पसले भर्खरै कक्षा १२ को परीक्षा दिएर बसिरहेका विद्यार्थीहरूका लागि ‘युथ फिल्म मेकर्स क्याम्प–२०२६’ आयोजना गर्ने भएको छ।
जेठ १३ गतेदेखि एक महिनासम्म चल्ने यस क्याम्पमा चलचित्र लेखन, छायाङ्कन, ध्वनि, सम्पादन, निर्देशन, अभिनय तथा फिल्म निर्माणका सैद्धान्तिक र प्रयोगात्मक दुवै पक्षबारे ज्ञान तथा सीप सिकाइने क्याम्पसका एकेडेमिक कोअर्डिनेटर विनोद खतिवडाले जानकारी दिए।
क्याम्पस प्रमुख शिशिर उप्रेतीका अनुसार परीक्षाफल कुरिरहेका विद्यार्थीहरूले खाली समयलाई सिर्जनात्मक कार्यमा लगाउँदै चलचित्रका विविध पक्षको ज्ञान हासिल गर्न सकून् र फिल्म निर्माणमा पनि भविष्य खोज्न सकून् भन्ने उद्देश्यले क्याम्प आयोजना गर्न लागिएको हो।
निःशुल्क सहभागिता रहने यस क्याम्पमा सहभागी हुन इच्छुक विद्यार्थीहरूले जेठ ११ गतेभित्र गुगल फर्ममार्फत आवेदन दिनुपर्नेछ। यस वर्षको वैशाख महिनामा भएको कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूले मात्र आवेदन दिन सक्ने क्याम्पसले जनाएको छ।





