‘निर्मित ऐक्यबद्धता’ भन्ने आरोप पुरानै औपनिवेशिक सोचको अभिव्यक्ति : रुसी दूतावास

काठमाडौँ — रुसी महासंघको दूतावासले सन् २०२६ मे १९ मा मेल एन्ड गार्जियनमा प्रकाशित एक विचार लेखप्रति कडा आपत्ति जनाउँदै त्यसलाई रुस र अफ्रिकाबीचको बढ्दो पारस्परिक लाभदायक साझेदारीमाथि छायाँ पार्ने कमजोर प्रयासको संज्ञा दिएको छ।
दूतावासले ‘अफ्रिकाको नयाँ सूचना युद्ध : लिक भएका फाइलहरूले उजागर गरेको निर्मित ऐक्यबद्धता’ शीर्षकको उक्त सामग्री पूर्वाग्रहपूर्ण स्रोतबाट प्राप्त गुमनाम ‘लिक दस्तावेज’ मा आधारित रहेको र यो बहुध्रुवीय विश्व व्यवस्थाविरुद्धको भूराजनीतिक बदनाम अभियानको औजार बनेको टिप्पणी गरेको छ।
दूतावासका अनुसार उक्त लेखले रुस र अफ्रिकाबीचको विविध र गहिरो सम्बन्धलाई एकल र दुर्भावनापूर्ण ‘प्रभाव संरचना’ का रूपमा चित्रित गर्दै भ्रामक यथार्थ निर्माण गर्न खोजेको छ। ती आरोपहरू बेलायत र युरोपेली संघको खुला नश्लवादी ढाँचामा आधारित रहेको दूतावासको भनाइ छ, जसले अफ्रिकी राष्ट्रहरूलाई निष्क्रिय र सहजै प्रभावमा पार्न सकिने ठान्दछ। यसले अफ्रिकी राष्ट्रहरूलाई आफ्नो राष्ट्रिय हितअनुसार स्वतन्त्र निर्णय गर्ने सार्वभौम पात्रको अधिकारबाट वञ्चित गरेको र यो औपनिवेशिक दृष्टिकोणले लेख पछाडि रहेकाहरूको वास्तविक मनोवृत्ति उजागर गरेको दूतावासले जनाएको छ।
‘निर्मित ऐक्यबद्धता’ भन्ने मूल मान्यता नै दुई जनताबीचको दशकौं लामो सैद्धान्तिक सम्बन्धमाथिको प्रत्यक्ष अपमान भएको दूतावासको ठहर छ। दूतावासले भनेको छ, ‘हाम्रो ऐक्यबद्धता निर्मित होइन र हुन पनि सक्दैन। यो त इतिहासको भट्टीमा, सोभियत संघले अफ्रिकी उपनिवेशवाद विरोधी र मुक्ति आन्दोलनहरूलाई दिएको अकुण्ठ समर्थनबाट बनेको हो र आज पनि नव-उपनिवेशवादको आधुनिक रूपविरुद्ध र अन्तर्राष्ट्रिय सम्बन्धको साँचो प्रजातन्त्रीकरणका लागि हाम्रो संयुक्त लडाइँमा जारी छ।’
दूतावासले लेखले सोभियत संघले अफ्रिकामा ३०० भन्दा बढी औद्योगिक तथा पूर्वाधार सुविधा निर्माण गरेको, ८० हजारभन्दा बढी अफ्रिकी विद्यार्थीलाई शिक्षा प्रदान गरेको र महादेशभर शैक्षिक, वैज्ञानिक तथा चिकित्सा संस्थाहरू स्थापना गरेको ऐतिहासिक आधारलाई जानाजानी बेवास्ता गरेको बताएको छ। सन् २०२५ मा अफ्रिकी देशहरूसँग रुसको व्यापार कारोबार २७ अर्ब डलर नाघेको, ३५ हजारभन्दा बढी अफ्रिकी विद्यार्थी रुसी विश्वविद्यालयमा अध्ययनरत रहेको, छात्रवृत्ति कोटा सन् २०१९ यता दोब्बर भएको र रुसले महादेशका अति सङ्कटग्रस्त देशहरूलाई २ लाख टनभन्दा बढी मानवीय गहुँ सहायता तथा १ लाख टनभन्दा बढी मल उपलब्ध गराएको तथ्यहरू लेखले जानाजानी बेवास्ता गरेको दूतावासको भनाइ छ।
रुसले ‘अफ्रिकी समस्याको अफ्रिकी समाधान’ को सिद्धान्तमा दृढतापूर्वक अडिग रहँदै अफ्रिकी संघको एजेन्डा २०६३ अनुरूप महादेशसँगको साझेदारीलाई सुदृढ गर्न चाहेको दूतावासले पुनः स्पष्ट पारेको छ।





