पूर्वअर्थमन्त्रीहरूले दिए सुझाव : यथार्थपरक राजस्व लक्ष्य, खर्च नियन्त्रण र निजी क्षेत्रको मनोबल वृद्धि

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम तयारीमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थ मन्त्रालयले राजधानीमा आयोजना गरेको छलफलमा पूर्वअर्थमन्त्रीहरूले खर्च नियन्त्रण, यथार्थपरक राजस्व लक्ष्य, निजी क्षेत्रको मनोबल वृद्धि, उत्पादनमुखी अर्थतन्त्र, आयोजना व्यवस्थापन तथा संरचनात्मक सुधारबारे सुझाव दिएका हुन्।
पूर्वअर्थमन्त्रीहरूले तयारीबिनाका टुक्रे आयोजना रोक्नुपर्ने, सरकारी खर्च कटौती गर्नुपर्ने र परिणाममुखी बजेट ल्याउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले राष्ट्रिय गौरवका आयोजना सीमित गर्न, कर प्रणाली सुधार गर्न, कृषि तथा पर्यटनमा उत्पादनमुखी लगानी बढाउन, निजी क्षेत्रलाई विश्वासमा लिन तथा वित्तीय अनुशासन कायम गर्न सुझाव दिएको बताइन्छ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व लक्ष्य यथार्थपरक बनाउन सुझाव दिए भने रामेश्वर खनालले तयारी नभएका आयोजना रोक्न आग्रह गरे। त्यसैगरी, वर्षमान पुनले पर्यटन पूर्वाधार र हिल स्टेसन विकासमा जोड दिए। जनार्दन शर्माले सङ्घीयता कार्यान्वयन र खर्च कटौतीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
छलफलमा काँग्रेसका डा. प्रकाशशरण महत, एमालेका युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे, तत्कालीन माओवादी केन्द्रका वर्षमान पुन र जनार्दन शर्मा, राप्रपाका प्रकाशचन्द्र लोहनी, अन्तरिम सरकारका रामेश्वर खनाल र खिलराज रेग्मी नेतृत्वको सरकारका शङ्करप्रसाद कोइराला उपस्थित थिए।
तर, अर्थमन्त्री वाग्लेले सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि प्रश्न उठाउने विपक्षीलाई अस्ति दिएको कटाक्षपूर्ण जवाफले पूर्वअर्थमन्त्रीहरूको सुझाव कार्यान्वयन हुनेमा धेरैको आशङ्का छ। उनले अस्ति संसद्मा बोल्दै रास्वपाले पाँच वर्षका लागि जनादेश पाएकाले विपक्षीले चाहेअनुसार कार्यक्रम अनुमोदन गराउन अर्को निर्वाचन कुर्नुपर्ने बताएका थिए। ‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार, यहाँ जे प्रस्तुत गरिएको हो, त्यो नै हो। अब आफ्नै भाषा, आफ्नै दस्तावेज अनुमोदित गराउनका लागि अर्को चुनाव कुर्नुपर्ला,’ उनले भनेका थिए।





