५ असार २०८३, शुक्रबार

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न

सिरहा। सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तीव्र गतिमा अघि बढाइएको अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।

नगरपालिका र निर्माण व्यवसायीबीच भएको सम्झौताअनुसार आगामी असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ। हाल लहानमा प्रादेशिक अस्पताल सञ्चालनमा रहेको छ। तर, उक्त अस्पतालमा सिरहाका मात्र नभई छिमेकी जिल्ला सप्तरी र उदयपुरसम्मका नागरिक उपचारका लागि आउने गरेका छन्। तीन जिल्लाको साझा उपचार केन्द्रजस्तो बनेकाले प्रादेशिक अस्पतालमा दैनिक रूपमा बिरामीको अत्यधिक चाप हुने गरेको छ, जसका कारण सर्वसाधारणले समयमा पालो नपाउने र सास्ती खेप्नुपर्ने बाध्यता छ। अब सुविधासम्पन्न नगर अस्पताल बनेपछि प्रादेशिक अस्पतालमा बिरामीको चाप निकै घट्ने र व्यवस्थापन सहज हुने विश्वास लिइएको छ।

निर्माणाधीन नगर अस्पतालको भवन मूल्य अभिवृद्धि कर (भ्याट) सहित कुल १२ करोड ५२ लाख १९ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको छ। लहान नगरपालिका र निर्माण कम्पनी मल्टिटेक कन्स्ट्रक्सन एन्ड सप्लायर्सबीच २०८० चैत १५ गते यसको निर्माण सम्झौता भएको थियो।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले यस अस्पताललाई आफ्नो कार्यकालको महत्त्वपूर्ण र गौरवको आयोजनाका रूपमा लिएको बताए। ‘लहानमा प्रादेशिक अस्पताल भए पनि छिमेकी जिल्ला सप्तरी र उदयपुरदेखिका बिरामी आउने भएकाले त्यहाँ सधैँ चाप हुन्थ्यो। नगरमै यो अर्को सुविधासम्पन्न अस्पताल बनेपछि त्यो चाप स्वतः सहज हुनेछ,’ उनले भने। उनका अनुसार १५ शय्याको यो अस्पतालमा मुख्य रूपमा प्रसूति (मातृशिशु) तथा बालरोगसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराइनेछ। हाल दुई तलाको काम सकिन लागेको छ भने तेस्रो तलामा आवश्यकताअनुसार थप संरचना व्यवस्थापनका लागि ट्रस्ट हाल्ने नगरको योजना छ।

निर्माण व्यवसायी मल्टिटेक कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रबन्धक महेशकुमार देवका अनुसार अस्पतालको पहिलो तलामा प्रशासनिक, आकस्मिक (इमर्जेन्सी) र ओपीडी सेवासहित ४० वटा कोठा रहनेछन् भने दोस्रो तलामा जनरल वार्ड, प्रसूतिगृह र अपरेसन थिएटरसहित ६२ वटा कोठा रहनेछन्। ‘हामीले गुणस्तरमा कुनै सम्झौता नगरी दिनरात काम गरिरहेका छौं,’ उनले भने। अस्पताल भवनको प्राविधिक तथा भौतिक संरचना सुविधासम्पन्न र वैज्ञानिक ढङ्गले डिजाइन गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button