‘राजनीतिक सेटिङकै आधारमा प्रधानन्यायाधीश बने मनोज शर्मा’ : लुम्बिनी प्रदेश सांसद खत्रीको दाबी

दाङ — लुम्बिनी प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डाक्टर मनोज शर्माको नियुक्ति राजनीतिक कनेक्सन र सेटिङका आधारमा भएको दाबी गरेका छन्।
लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका खत्रीले विगतदेखि नै राजनीतिक पहुँच र सेटिङ मिलाउन सिपालु शर्मा यसपटक पनि राजनीतिक शक्तिकै आडमा प्रधानन्यायाधीश बन्न सफल भएको दाबी गरेका हुन्।
‘अतिरिक्त न्यायाधीश हुँदा कुनै राजनीतिक दलको कार्यालयमा कृतज्ञता दिन पुग्ने, आफ्ना काका प्रधानन्यायाधीश भएको बेलामा नियुक्ति खाने डाक्टर मनोज शर्मा अहिले पनि राजनीतिक कनेक्सनकै आधारमा प्रधानन्यायाधीश बनेको तथ्यले पुष्टि गर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले भनेजस्तो योग्यता र विज्ञताको आधारमा होइन, राजनीतिक सेटिङको आधारमा नियुक्ति भएको हो।’
प्रदेश सभा सदस्य खत्रीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण योगदान गरेको बाँके जिल्ला अहिले विभिन्न विषयमा अन्यायमा पर्न थालेको टिप्पणी गरे। उनले प्रदेश सुशासन केन्द्रलाई अन्यत्र सार्ने प्रयासप्रति आपत्ति जनाउँदै भने, ‘सुशासन केन्द्र नसारियोस्, बाँके र त्यहाँका जनतालाई अन्याय हुने कुनै पनि कार्य स्वीकार्य छैन।’
यस्तै, उनले विद्युत अनियमित हुँदा बाँके क्षेत्र समस्यामा परेको भन्दै प्रदेश र संघीय सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।





