१५ असार २०८३, सोमबार

प्रदेश सरकारको आगामी बजेट जनमुखी बनाउने मुख्यमन्त्री आचार्यको घोषणा

भालुबाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताएका छन्।

प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माणको तयारी तीव्र रूपमा अघि बढाइएको बताए।

उनले सबैको भावना समेटिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याइने उल्लेख गरे। ‘हामी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटिरहेका छौं। सबैको भावना समेटिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘नीति तथा कार्यक्रममा टेकेर बजेट ल्याउँछौं।’

प्रदेश सुशासन केन्द्रका प्रमुख कार्यकारी निर्देशक उजिरप्रसाद न्यौपानेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका मन्त्री, संसदीय समितिका सभापति तथा प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको थियो।

प्रदेश सरकारले आगामी बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर निर्माण गर्ने तयारी गरेको छ। चालु खर्च नियन्त्रण, पुँजीगत खर्चको प्रभावकारिता वृद्धि, सार्वजनिक खर्चमा मितव्ययिता तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

कृषि, उद्योग, पर्यटन, ऊर्जा तथा पूर्वाधार क्षेत्रमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको योजना छ। आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने क्षेत्रलाई विशेष प्राथमिकता दिइने भएको छ। युवा लक्षित सीप विकास, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्तनमा आधारित कार्यक्रममार्फत प्रदेशभित्रै रोजगारी सिर्जना गर्ने नीति ल्याउने तयारी गरिएको छ।

यसैगरी, डिजिटल शासन प्रणाली विस्तार गर्दै सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी तथा नागरिकमैत्री बनाइने भएको छ। राजस्व प्रशासन, सार्वजनिक खरिद, लेखा व्यवस्थापन तथा सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रयोग बढाउने गरी सरकारले प्राथमिकताका क्षेत्र निर्धारण गरेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button