१५ असार २०८३, सोमबार

हुम्ला-बाजुरा सीमा विवाद चर्कियो, राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र

हुम्ला — हुम्ला र बाजुराको सीमाक्षेत्रमा देखिएको विवाद थप चर्किएको छ। हुम्लाको खार्पुनाथ, सर्केगार्ड, ताँजाकोट, सिमकोट र नाम्खा गाउँपालिकामा पर्ने रानीसेन, च्याचौर, लाम्पाटालगायत क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकामाथि हुम्लावासीले आक्रोश पोखेका हुन्।

हुम्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै हिमाली गाउँपालिकाले हुम्लाको सीमाभित्र संरचना निर्माण गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका २ र ३ का स्थानीयमाथि कुटपिट गरिएको, वडा सदस्य पेमागुरुङ लामासहितका व्यक्तिलाई ‘शवदाह घाट’ बनाइएको भन्ने समाचार निराधार रहेको दाबी गरेका छन्।

विज्ञप्तिमा हिमाली गाउँपालिका–३ का स्थानीय र जनप्रतिनिधिले एकपक्षीय रूपमा अराजक गतिविधि गरिरहेको आरोप लगाइएको छ। ‘हुम्लाको सीमामा आफूखुसी संरचना निर्माण गरेर बाजुराको भूभाग दाबी गर्ने प्रयास गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। विवादकै कारण राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा तीन दिनदेखि यात्रुहरू अलपत्र परेका छन्। नेपालगन्ज र सुर्खेतबाट हुम्ला आउजाउ गर्ने सर्वसाधारण धुलाचौर क्षेत्रमा रोकिएका छन्। स्थानीयका अनुसार यात्रुहरू खुला आकाशमुनि बस्न बाध्य छन् भने खाद्यान्न र पिउने पानीको समेत अभाव हुन थालेको छ।

हुम्लाका राजनीतिक दलहरूले विवाद समाधानका लागि तत्काल संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेको जनाउँदै विवादित क्षेत्रमा जथाभावी गतिविधि रोक्न माग गरेका छन्।

विज्ञप्तिमार्फत दलहरूले पाँच बुँदे मागसमेत अघि सारेका छन्, जसमा विवादित क्षेत्रमा निर्माण कार्य रोक्न, घटनामा संलग्नमाथि कारबाही गर्न, राष्ट्रिय राजमार्ग तत्काल सञ्चालनमा ल्याउन तथा यात्रुलाई बन्धक बनाउने कार्यलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ। यदि तत्काल सडक सञ्चालन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिइएको छ।

संयुक्त विज्ञप्तिमा रास्वपा प्रतिनिधि समीर रोकाया, नेकाका उपसभापति कैलाश भण्डारी, एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही र नेकपा माओवादी केन्द्रका सचिव धर्मराज बोहराले हस्ताक्षर गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button