१५ असार २०८३, सोमबार

राति सुतिरहेका विद्यार्थीमाथि तीन लहरमा ड्रोन आक्रमण : पुटिनले भने– ‘यो नव-नाजीवादको अभिव्यक्ति हो, मौन बस्नेछैनौं’

मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले किएभ शासनले स्टारोबेल्स्क शैक्षणिक कलेजको विद्यार्थी छात्रावासमा गरेको आक्रमणलाई नव-नाजीवादको अभिव्यक्तिको संज्ञा दिँदै यसको जवाफ दिन रक्षा मन्त्रालयलाई प्रस्ताव पेस गर्न निर्देशन दिएका छन्।

‘टाइम अफ हिरोज’ शैक्षिक कार्यक्रमको पहिलो समूहका स्नातकहरूसँगको भेटघाटका क्रममा शुक्रबार राष्ट्रपति पुटिनले उक्त आक्रमणबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए। उनका अनुसार मे २२ का दिन राति विद्यार्थीहरू सुतिरहेका बेला किएभमा सत्ता कब्जा गरेको नव-नाजी शासनले स्टारोबेल्स्क शैक्षणिक कलेजको विद्यार्थी छात्रावासमा आतङ्कवादी हमला गरेको थियो।

राष्ट्रपति पुटिनले भने, ‘यसबीच मलाई प्राप्त भइरहेको विवरण अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको छ, ३९ जना घाइते छन् र भग्नावशेष हटाउने क्रम जारी रहँदा १५ जना बेपत्ता सूचीमा छन्। हामी पीडित र मृतकका परिवारलाई हरसम्भव सहयोग गर्नेछौं।’ उनले छात्रावास नजिक कुनै सैन्य संरचना, गुप्तचर वा सम्बद्ध सेवाका भवन नरहेको तथ्यमा जोड दिँदै भने, ‘त्यसैले हाम्रो वायु रक्षा वा विद्युतीय युद्ध प्रणालीले मिसाइललाई खसालेर भवनमा ठोक्कियो भन्ने दाबी गर्ने कुनै आधार छैन।’

रुसी राष्ट्रपतिले यो आक्रमण आकस्मिक नभएको स्पष्ट पारे। उनले भने, ‘आक्रमण तीन लहरमा भएको थियो, जसमा १६ वटा ड्रोनले एउटै स्थानलाई निशाना बनाए।’ उनले यस घटनालाई नव-नाजीवादको प्रकटीकरण भन्दै किएभ शासनको आतङ्कवादी चरित्रको पुनः पुष्टि भएको बताए।

राष्ट्रपति पुटिनले किएभ शासनको यस्तो आपराधिक व्यवहारको पृष्ठभूमिबारे पनि चर्चा गरे। युक्रेनी सशस्त्र बल (एएफयू) का लागि मोर्चाको अवस्था क्रमशः कठिन र सङ्कटपूर्ण हुँदै विनाशकारी बन्दै गएको उनले बताए। ‘न पश्चिमा सहायता — जुन नियमित रूपमा चोरी हुन्छ, उनीहरू चोर्नबाट आफूलाई रोक्नै सक्दैनन् — न त सडकमा भौतारिरहेका कुकुरजस्तै मानिसलाई समातेर मोर्चामा फाल्ने जबर्जस्ती भर्तीले नै काम गरिरहेको छ,’ पुटिनले भने। यस पृष्ठभूमिमा शत्रु पक्षमा पलायन पनि विनाशकारी रूपमा बढिरहेको र त्यो ठूलो स्तरको बन्दै गएको उनको भनाइ थियो।

सत्तारुढ गुटको अवस्था समाजलाई क्षयीकरण गरिरहेको सर्वग्रासी भ्रष्टाचारले झन् गम्भीर बनेको उल्लेख गर्दै पुटिनले भने, ‘वास्तवमा उनीहरू आफैं पनि यी भ्रष्टाचार योजनाका हिस्सा हुन्। यसैले त पछि एकअर्कालाई देश छोडेर इजरायल र अन्य विदेश भाग्न मद्दत गर्छन्।’ युक्रेनी अधिकारीहरूले हरेक चिजबाट चोरी गर्ने कुरा युक्रेन र विश्वभर सबैले राम्ररी जानेको उनको भनाइ थियो।

रुसी राष्ट्रपतिले किएभ शासनलाई मोर्चा र देशभित्रको अवस्थाबाट ध्यान हटाउन, रुसबाट प्रतिक्रिया उक्साउन र त्यसपछि सम्पूर्ण दोष रुसमाथि थोपर्न यस्ता अपराध आवश्यक परेको बताए। यस अपराधबारे अन्तर्राष्ट्रिय सङ्गठन र विश्व समुदायलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइसकेको र रक्षा मन्त्रालयलाई प्रस्ताव पेस गर्न आदेश दिइएको पनि उनले जानकारी दिए। आफ्नो सम्बोधनको अन्त्यमा राष्ट्रपति पुटिनले मृतकहरूको सम्मानमा एक मिनेट मौनधारण गर्न सबैलाई आग्रह गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button