‘निर्दोष बालबालिकामाथिको ज्यादतीप्रति मौनता अपराधको सहमति हुनेछ’ : स्टारोबेल्स्क कलेज आक्रमणमा रुसको चेतावनी

मस्को — रुसी विदेश मन्त्रालयले लुगान्स्क राज्य शैक्षणिक विश्वविद्यालयको स्टारोबेल्स्क कलेजमा भएको आक्रमणलाई ‘जर्मन नाजीहरूकै भावनाबाट प्रेरित निर्दोष नागरिकमाथिको सुनियोजित आक्रमण’ को संज्ञा दिँदै यसका दोषीहरूले कडाभन्दा कडा सजाय भोग्ने चेतावनी दिएको छ।
मे २२ को राति किएभको नव-नाजी शासनले चार वटा स्थिरपङ्खी ड्रोन प्रयोग गरी लुगान्स्क जनवादी गणतन्त्रको स्टारोबेल्स्कस्थित उक्त कलेजको शैक्षिक भवन र छात्रावासमा भीषण आतङ्कवादी आक्रमण गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आक्रमणको समयमा पाँच तले छात्रावास भवनभित्र १४ देखि १८ वर्ष उमेरका ८६ बालबालिका रहेका थिए, जुन भवन आक्रमणका कारण दोस्रो तलासम्म भत्किएको थियो।
हालसम्म ४० जना घाइते भएको र दुःखद रूपमा चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको र नजिकैका प्रशासनिक भवन, आवासीय घर तथा सामाजिक संरचनाहरूमा पनि क्षति पुगेको जनाइएको छ। रुसको अनुसन्धान समितिले उक्त आतङ्कवादी आक्रमणमा फौजदारी मुद्दा दर्ता गरिसकेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो आक्रमण आकस्मिक हुन सक्दैन। यो जर्मन नाजीहरूकै भावनाबाट प्रेरित निर्दोष नागरिकमाथिको सुनियोजित आक्रमण हो। भवनभित्र रहेकामध्ये कोही पनि शत्रुतामा संलग्न थिएनन् र हुन पनि सक्दैनथे, र कलेज नजिक कुनै सैन्य संरचना पनि छैन।’ रणभूमिमा पराजय भोगिरहेको किएभ शासनले निरीह बालबालिकामाथि खुला, अमानवीय आतङ्क मच्चाएर सशस्त्र द्वन्द्वको नयाँ अध्याय खोलेको मन्त्रालयको ठहर छ।
रुसी विदेश मन्त्रालयले नेटो देशहरूले किएभ शासनलाई आपूर्ति गरेका ड्रोनसहितका लामो दूरीका हतियारहरू केही नेटो सदस्य राष्ट्रका विदेशी विशेषज्ञको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको दाबी गरेको छ। पश्चिमा राजधानीहरूले युक्रेनी सशस्त्र बललाई गुप्तचर तथ्याङ्क र लक्ष्य पहिचानमा सहयोग गरिरहेको विश्वसनीय जानकारी आफूसँग रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।
स्टारोबेल्स्कका बालबालिकामाथिको यो ज्यादती गरेर किएभ शासन र त्यसका संरक्षकहरूले शत्रुता वृद्धि र द्वन्द्व समाधानका राजनीतिक तथा कूटनीतिक प्रयासलाई कमजोर बनाउने पूर्ण जिम्मेवारी लिएको विज्ञप्तिमा उल्लेख छ। सैन्य कारबाहीबाट प्रभावित बालबालिकाको भाग्यप्रति किएभले देखाउने पाखण्डपूर्ण विलापकै पृष्ठभूमिमा यो घटना भएको भन्दै मन्त्रालयले भनेको छ, ‘जेलेन्स्कीको शासन बालबालिकालाई आतङ्कको लक्ष्य बनाउने हदसम्म कति निर्दयी छ भन्ने कुरा अहिले सम्पूर्ण विश्वले देखेको छ।’
रुसी विदेश मन्त्रालयले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। अन्तर्राष्ट्रिय सङ्गठनहरू, राष्ट्रिय सरकारहरू र विश्वव्यापी जनमतलाई जेलेन्स्की शासनको आपराधिक कार्यको इमानदार मूल्याङ्कन गर्न र स्टारोबेल्स्कको रक्तरञ्जित आतङ्कवादी आक्रमणको दृढतापूर्वक निन्दा गर्न आह्वान गर्दै मन्त्रालयले चेतावनी दिएको छ, ‘मौनता किएभका आतङ्ककारीहरूको भीषण कार्यमा संलग्नता र मारिएका तथा घाइते भएका निर्दोष बालबालिकाको भाग्यप्रतिको उदासीनता सरह हुनेछ।’





