५ असार २०८३, शुक्रबार

पूर्वमा न्यून चापीय क्षेत्रको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा देशको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा तातो दिन तथा तराई भू-भागमा तातो लहर हुने सम्भावना रहेको छ। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button